पोखराको बजेट ७ अर्व–कनेक्टिङ रोडलाई ७२ करोड, फेवाताललाई ३४ करोड

प्रकाश ढकाल
पोखरा, असार १० ।
पोखरा महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि ७ अर्व ५४ लाख रुपैयाँको बजेट प्रश्तुत गरेको छ । चालूतर्फ २ अर्व १५ करोड ५४ लाख र पूँजीगत तर्फ ४ अर्व ७० करोड ९९ लाख तथा सांसद विकास कोष मार्फत १४ करोड र विभिन्न कोषहरुमा ४० करोड रुपैयाँ विनियोजन गरेको छ । संघ सरकारबाट ३ अर्व ३३ करोड ७८ लाख, गण्डकी प्रदेश सरकारको ४७ करोड ९६ लाख रुपैयाँ अनुदान पाएको छ भने २ अर्व ५० करोड रुपैयाँ आन्तरीक आम्दानी गर्ने अनुमान छ । यसबाहेक, १० करोड रुपैयाँ बैदेशिक अनुदान लिने, ३६ करोड रुपैयाँ जनसहभागिताबाट उठाउने र चालू बर्षको २२ करोड रुपैयाँ अख्तियारी सारेर लैजाने महानगरले जनाएको छ ।

 

महानगरले अण्डरग्राउण्ड पार्किङसहित नक्सापास गर्दा दस्तुरमा एक तलाको राजश्व छुट गरेको छ भने भूकम्प पीडित लाभग्राहीमा परेका परिवारलाई एकहजार स्क्वायर फिटसम्मको घरलाई निशुल्क नक्सापासको ब्यवस्था मिलाएको छ । महानगरका पुरातात्विक महत्वका पूराना घर पूरानै शैलिमा बनाए ५० प्रतिशत राजश्व छुट र ग्रामिण पर्यटकीय क्षेत्रमा बन्ने भवनका लागि नक्सापास दस्तुरमा ५० प्रतिशत छुट, अपाङ्गता भएका, पिछडा बर्ग तथा महिलाले ब्यवसाय दर्ता गर्दा ३० प्रतिशत छुट, कृषि सम्बन्धी ब्यवसायको लागि ३० प्रतिशत छुटको ब्यवस्था गरेको मेयर मानबहादुर जिसीले जानकारी दिए ।

 

आगामी बर्षको सबैभन्दा ठूलो रकम कनेक्टिङ सडकमा लगानी गरिएको छ । ७२ करोड ४० लाख रुपैयाँ नयाँ वडाको केन्द्रसम्म पुग्ने सडक स्तरोन्नतीमा विनियोजन गरिएको हो । यि सडकहरुको टेण्डर निस्किएर सबैको ठेक्का समेत सम्झौता भैसकेको छ । यस्तै, भोटीखोला, घोरकुना, फिर्केखोला सहित अन्य ४ ठाउँमा मोटरेवल पुल बनाउन २३ करोड २८ लाख छुट्याईएको छ । २, ११, १२, ३०, ३२, १९ र २२ नम्बर वडा सहित थप ९ वटा भवन बनाउन २४ करोड ९७ लाख र महानगरको आफ्नै भवन बनाउन ६ करोड रुपैयाँ बजेट छ ।

 

पोखरामा अन्तराष्ट्रिय स्तरको सभाहल बनाउन ३ करोड, अस्फालट कंक्रिट रोडका लागि ८ करोड, पोखरा १७ को आरटिओ सडकका लागि ९ करोड, पोखराको डिजिटल गुरुयोजना र भूउपयोग नीति बनाउन ८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

 

एक वडा एक विशेष कार्यक्रम सञ्चालन गर्न ४५ करोड, ३३ वटै वडाका वडास्तरीय विकासमा ३६ करोड ४० लाख रुपैयाँ बजेट छुट्याईएको छ । महानगरले विकट वडाहरुमा कार्यरत कर्मचारीहरुलाई थप भत्ताको ब्यवस्था गरेको छ । १६, १८, १९, २०, २१, २२, २३, २४, २८, ३२ र ३३ नम्बर वडामा काम गर्ने कर्मचारीको प्रोत्साहनका लागि प्रतिब्यक्ति १ हजार ५ सय रुपैयाँका दरले भत्ता उपलब्ध गराउने बजेटमा उल्लेख छ ।

 

फेवाताल संरक्षणका लागि सिल्ट्रेसन ड्याम बनाउन ३३ करोड ७९ लाख रुपैयाँ छ भने प्रत्येक वडामा फलफूल बगैंचा बनाउन १ करोड २० लाख, राष्ट्रिय विभुती पार्क बनाउन १ करोड, सार्वजनिक शौचालय निर्माणका लागि २ करोड ५० लाख, नदीले पारेको असर न्यूनिकरण गर्न ३ करोड, कास्कीकोट, सराङकोट, भदौरे, पुम्दीभुम्दी र दीपाङ तालमा पैदल मार्ग बनाउन २ करोड, आधुनिक शवदह स्थल बनाउन १ करोड रुपैयाँ विनियोजन भएको छ ।

 

गोस्तेघाट, भण्डारढिकको खेलमैदान सहित पोखरा २० नम्बर वडामा हाईअल्टिच्युड खेलमैदान बनाउन ३ करोड रुपैयाँ छुट्याईएको छ भने प्रत्येक वडामा खेलमैदानका लागि १ करोड, एक घर एक धारा अभियानका लागि १० करोड रुपैयाँ बजेट छ । मंगलबार नगरसभामा उपप्रमुख तथा राजश्व परिचालन समितिकी संयोजक मञ्जुदेवी गुरुङले बजेट प्रश्तुत गरेकी हुन् ।