पोखराको फेवातालमा साहित्यको कुम्भमेला (फोटो फिचर)

पोखरा, पुस ७ ।
बुकवर्म फाउन्डेसनको आयोजना रहेको सातौं नेपाल साहित्य महोत्सव शनिबारदेखि पोखरामा सुरु भएको छ । ‘सौन्दर्यको सहरमा शब्दहरुको संकथन’ ट्यागलाइन दिइएको महोत्सवमा विभिन्न देशका ख्यातिप्राप्त लेखक साहित्यकार वक्ताका रुपमा सहभागी भएका छन् ।

नेपालको शिक्षा क्षेत्रको विकासका लागि योगदान र्पुयाएका जर्ज जोन र एलियाम्मा जोनको प्रमुख अतिथ्यमा महोत्सव उद्घाटन गरिएको छ । कार्यक्रममा आईएमई समूहका अध्यक्ष हेमराज ढकालले नेपाली साहित्य र सिर्जनामा आफ्नो समूहले सधैं साथ दिने बताए ।

कार्यक्रमको शुभारम्भमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले नेपाली साहित्य र भाषाको विकासका लागि पोखराको योगदान उल्लेखनीय रहेको बताए । यस्ता साहित्यिक महोत्सवले अब पोखरा सांस्कृतिक र पर्यटकीय शहर मात्रै नभएर साहित्यिक शहरका रूपमा पनि विकसित हुँदै गएको मन्त्री अधिकारीले बताए ।

त्सयैगरी वरिष्ठ साहित्यकार सरुभक्तले प्रमुख अतिथि जर्ज जोन र एलियाम्माले नेपालको शैक्षिक विकास खासगरी पोखराको शैक्षिक विकासमा र्पुयाएको योगदानबारे प्रकाश पारे । जोन दम्पती पोखराको उच्च शिक्षाको विकासमा प्रमिथियस नै भएको सरुभक्तले जनाए । उनले भारतको केरलमा जन्मेर पनि सम्पूर्ण अवसरलाई त्यागेर जोन दम्पतीले नेपालको शैक्षिक विकासमा र्पुयाउनुभएको योगदान अतुलनीय रहेको बताए ।

महोत्सवको उद्घाटन गर्दै जर्ज जोनले आफूलाई पोखराले दिएको जति माया कतैबाट प्राप्त नभएको बताए । महोत्सवमा चर्चित पाकिस्तानी लेखक मोहम्मद हनिफ, नेपाली मूलका भारतीय लेखक प्रज्ज्वल पराजुली, बेलायती ग्राफिक नोभलिस्ट डाक्टर निकोला स्ट्रिटेन र भारतीय पत्रकार हरिश नाम्बियर लगायत रहेका छन् ।
तस्विर–सुदर्शन रञ्जित/फोटो पत्रकार