पोखराको परनिर्भरता बढ्दो

प्रकाश ढकाल
पोखरा, असोज ९ ।
आवासीय रुपमा जग्गाको खण्डीकरण हुन थालेपछि पोखराको परनिर्भरता बर्षेनी बढ्दैछ । घरघडेरीले खेतीयोग्य जमिन साँघुरिंदैछ । प्लटिङ नै नभएपनि जनशक्ति अभावले खुला ठाउँहरु समेत बाँझा छन् । अहिले भैरहेको उत्पादनले पोखराको आधा माग पनि थेग्दैन । सबैभन्दा बढी उत्पादन हुने धान, मकै, कोदो र गहुँजस्ता अन्नबाली पनि पोखराका लागि ५१ प्रतिशत कम हुन्छ । ८४ हजार १ सय ५१ मेट्रिक टन अन्नबाली खपत हुने पोखरामा मुश्कीलले ४१ हजार मेट्रिक टन मात्रै उत्पादन हुन्छ । झण्डै ४३ हजार मेट्रिक टन अन्नबाली जिल्ला बाहिर र तेश्रो देशबाट आयात भैरहेको एक अध्ययनले देखाएको छ । त्यसमध्ये चामल मात्रै ४० हजार मेट्रिक टन छ ।
तेलहन र दलहनमा पोखराको उत्पादन बहुत कमजोर छ । ४ हजार ५ सय ५१ मेट्रिक टन तेलहन चाहिने पोखराले ८७ टन भन्दा बढी उत्पादन गर्न सक्दैन । १४ हजार मेट्रिक टनको हाराहारीमा दलहन बाली खपत हुने ठाउँमा ३ सय ७३ मेट्रिक टन मात्रै उत्पादन हुन्छ । तेलहन ९८ प्रतिशत आपुर्ति जिल्ला बाहिरबाट हुने अध्ययनको दावी छ । झण्डै ५२ प्रतिशत तरकारी पनि बाहिरबाट आयात हुन्छ । पोखरालाई बर्षेनी ४५ हजार ९२ मेट्रिक टन तरकारी आवश्यक पर्छ । तर २३ हजार ३ सय ३४ मेट्रिक टन तरकारी कास्कीभन्दा बाहिरबाट भित्रिन्छ । बर्षमा ३१ हजार २७ मेट्रिक टन आलु खाने यहाँका उपभोक्ताले झण्डै १७ हजार मेट्रिक टन नेपालका विभिन्न जिल्ला र भारतबाट समेत खरिद गर्छन् ।
महानगरमा खपत हुने कृषिजन्य सामग्रीमध्ये ८५ प्रतिशत जिल्लाबाहिरको छ । त्यसमध्ये पनि झण्डै ४५ प्रतिशत भारत, चीन लगाएतका अरु देशबाट आयात हुन्छन् । पोखराको उत्पादनले यहाँको १८ प्रतिशत माग मात्रै पूरा गर्न सक्ने कृषि बिज्ञ डा. अनिल सुवेदी बताउँछन् । ‘पोखरा मुस्ताङदेखि नवलपरासीसम्मको इकोनोमिक हव हो । त्यसैले जनसंख्याको भार बर्षेनी बढिरहेको छ, उनी भन्छन्–जमिन लगातार घटिरहेको छ । अब खाद्यान्न संकट टार्ने चुनौती पनि महानगरलाई थपिएको छ ।’ जमिन र जनशक्ति कै कारण पोखरालाई खाद्य संकट बढ्न थालेको भन्दै समाधानका लागि तत्काल उपयुक्त योजना तयार गर्नुपर्ने सुझाए । ‘चाहिने जति सबै कुरा बाहिरबाट ल्याउँछौं । पठाउने कुरा केही छैन, उनले थपे–हाम्रो उत्पादनले अहिले नै हामीलाई पुगेको छैन भने २० बर्षपछि कल्पना गर्नुस् त के हालत होला ?’ यही हिसावले उत्पादन घट्दै गए २० बर्षसम्म अहिलेको तुलनामा ५ दोब्बर बढी खाद्या समस्या बढ्न सक्ने उनको अनुमान छ ।
डा. रामचन्द्र बरालले खण्डीकरण सँगैको दलालीकरणले खेतबारी बाँझिएको उल्लेख गरे । उनले कति जमिनमा खाद्यन्न, दलहन, तेल र तरकारीको विस्तार कसरी गर्न सकिन्छ भन्ने तथ्यांक समेत कसैसँग नभएको बताए । ‘कृषकले कामदार नपाउने र कामदारले रोजगार नपाउने समस्या छ, उनी भन्छन्–एकअर्काप्रति विश्वास नहुँदा दुबैले आफु विरानो ठान्ने र निराश बन्दै परदेश ताक्ने अवस्था सिर्जना भएको छ । यो चुनौतिको सामना तत्काल गर्नुपर्छ ।’
महानगरभित्र हाल कायम भएको जमीनलाई दीर्घ रुपमा उपयुक्त भूउपयोग नीति तथा योजना तर्जुमा गरी कार्यान्वयन गराउन सके धेरै हदसम्म खाद्यान्न उत्पादन र उपलब्धता सहज हुने समाज बिज्ञानका जानकार बिश्व सिग्देलको तर्क छ । ‘महानगरको रि फर्मेसन गर्ने सक्ने हैसियतमा छैनौं । भएका संरचनाको ब्यवस्थापन नै अहिलेको मुख्य उपलब्धी हो, उनी भन्छन्–हामी धेरै ढिलो भैसक्यौं । अव यही अबस्थाबाट अगाडी बढ्नुपर्छ ।’ भूगर्भशास्त्री डा. बसन्तराज अधिकारीले पोखराको माटो खासै पूरानो नभएकाले भौतिक संरचना तयार गर्दा धेरै सोच्नुपर्ने बताए । ‘७ सय बर्षअघि आएका ठूला भूकम्पबाट पोखरा बनेको हो । अध्ययन गर्दा तल्लो लेयरसम्म पनि काठका टुक्रा भेटिन्छन्, उनले भने–यहाँको जमिन कमजोर छ । ठूला भौतिक संरचना पोखराले धान्दैन ।’
पोखराको भूसंरचना, जनघनत्व र कृषि आपुर्ति ब्यवस्थापनका चुनौतिबारे आइतबार पोखरामा सरोकारवाला बीच छलफल भएको थियो । कार्यक्रममा पोखराको भूमिगत भूसंरचना बारे डा. बसन्तराज अधिकारी, पोखराको जनघनत्व ब्यवस्थापनका चुनौतीबारे समाज बिज्ञानका बिज्ञ बिश्व सिग्देल, पोखराको कृषि आपुर्तिका चुनौतिबारे डा. अनिल सुवेदी, बेनी बहादुर बस्नेत र डा. रामचन्द्र बरालले अवधारणा प्रश्तुत गरेका थिए । कार्यक्रमका सहभागीहरुले पोखराको भूवनोटका आधारमा ल्याण्डयूज प्लान तयार गरी कडाईका साथ कार्यान्वयन गर्नुपर्ने बताए । ‘पोखरालाई कुन मोडलमा विकास गर्ने हो त्यसको तयारी अहिले नै गर्नुपर्छ, पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दर कुमार श्रेष्ठले भने–भुगोल हेरेर मास्टर प्लान बनाऔं ।
अपार्टमेण्ट अवधारणामा नगए पोखराका जमिन छिटै सकिन्छन् ।’ कार्यक्रममा डा. कालु शर्मा, डा. दिल बहादुर क्षेत्र, नेपाल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष आनन्दराज मुल्मी लगाएतले पोखरा विकासको पूर्ण स्वामित्व महानगरले लिनुपर्ने धारणा राखे । उनीहरुले बढ्दो जनभार रोक्न नसक्ने भन्दै नयाँ हिसावले सोच्नुपर्ने बताए । ‘सरकारले नचाहेसम्म केही हुँदैन, मुल्मीले भने–त्यसका लागि सरकार तात्नुपर्छ । हामीले सर्पोटिङ रोल निभाउने हो ।’ पत्रकार नारायण कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण डा. कुलराज चालिसेले गरेका थिए ।