पोखराको निषेधाज्ञा ५ दिन थप्न महानगरको सिफारिस

पोखरा, भदौ ७ ।
हाल जारी निषेधाज्ञा ५ दिन थप्ने पोखरा महानगरपालिकाले तयारी गरेको छ । भदौ २ गतेदेखि जारी निषेधाज्ञा आज राती १२ बजेपछि सकिँदैछ ।

महानगरपालिकाको कोरोना ब्यवस्थापन मुल समिति बैठकले ५ दिन यही अवस्थामा निषेधाज्ञा थप्न जिल्ला विपद ब्यवस्थापन समितिलाई सिफारिस गरेको हो ।

संक्रमणको अवस्था खासै घटेको छैन । केही दिन अझै थप्न स्वास्थ्य कर्मी र सरोकारवालाहरुको सुझावका आधारमा ५ दिन थप्न सिफारिस गर्ने निर्णय भएको पोखरा महानगरका मेयर मानबहादुर जिसीले बताए ।

आजै जिल्ला विपद ब्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकले अनुमोदन गरेमा अब १२ भदौको मध्यरातसम्म निषेधाज्ञा जारी रहनेछ ।