पोखराको चिप्लेढुंगामा बीच सडक भासियो (फोटो हेर्नुस्)

पोखरा, जेठ ३२ ।
पोखराको ब्यस्त बजार चिप्लेढुंगामा बीच सडक नै भासिएको छ । विपी कोइरालाको शालिक आडमा खानेपानीको पाईप लिक भएर जमिन भासिएको हो । शुक्रबार दिनभरी ठूलो पानी परेका कारण त्यही पानी जमिनमा छिरेर भासिएको इञ्जिनियरहरु बताउँछन् ।

सुरुमा सानो भ्वाङ देखिएपछि एस्काभेटरले खन्दै जाँदा ठूलो भ्वाङ भेटिएको हो । अहिले करिब २० मिटर जति भ्वाङ परेको छ । सडकमा भ्वाङ परेपछि यातायात डाईभर्ट गरिएको छ भने हेर्नेको भीड लागेको छ ।

पोखरामा हिजो दिउँसो ८३ मिलिमिटर वर्षा भएको थियो । पोखराका ठाउँ–ठाउँमा जमिन भासिने क्रम विगतदेखि नै भएको थियो । अर्मलामा जमिन भासिएपछि बस्ती नै विस्थापित भएको थियो ।

पोखराको भूगोललाई निकै कमजोर मानिन्छ । खासगरि नदीपुरदेखि चिप्लेढुंगा र न्यूरोड तथा नयाँबजार क्षेत्र कमजोर माटोले बनेको भूगोलविद्हरुको भनाई छ ।

महानगरका बरिष्ठ इन्जिनियर शारदा मोहन काफ्ले पनि धेरै पानी जमिनमुनि पसेपछि कमेरे माटो बगाउने र सतह तल झर्ने क्रम पोखरामा नौलो नभएको सुनाउँछन् । सडक भासिएपछि वडा नम्बर ४ ले मर्मत थालेको वडाध्यक्ष शंकर बास्तोलाले बताए ।