पोखराको काहुँमा फूल्यो पुसमै लालिगुराँस, जाने होईन हेर्न ?

पोखरा, पुस ३० ।
पोखरा ११ को काहूँडाँडामा लालिगुराँस फूलेको छ । फागुन पछि फूल्ने गुराँस यसबर्ष पुसमै फूलेको हो । १ हजार ४ सय ४४ मिटर उचाईमा रहेको काहूँडाँडा सबै भन्दा कम उचाईमा गुराँस फूल्ने ठाउँ पनि हो ।

सामान्यतः १ हजार ४ सय मिटर उचाईभन्दा माथी मात्रै लालिगुराँस फूल्ने बनस्पतिका जानकार कमल मादेन बताउँछन् । उनका अनुसार तापक्रम बढी भएको ठाउँमा गुराँस पनि छिटो फूल्छ । ‘१४ सय देखि ३५ सय मिटरसम्म गुराँस फूलेको देखिन्छ । तापक्रमका कारण तल्लो क्षेत्रमा छिटो फूल्छ, उनले भने–अलि बढी उचाई भएका ठाउँमा साउनसम्म पनि गुराँस फूलेको देख्न पाईन्छ । यसको मूख्य कारण चाहीँ तापक्रम नै हो ।’

केहीले चाहीँ जलवायू परिवर्तनलाई पनि मुख्य कारण मान्ने गरेको उनले सुनाए । ‘ढिलो चाँडो फूल्ने बिषयमा जलबायू परिवर्तनका कुरा पनि आउँछन् । तर यही कारणले छिटो फूले जस्तो मलाई लाग्दैन, उनले अघि भने–कहिलेकाहीँ सामान्य समयमा भन्दा ढिलोचाँडो हुन्छ । त्यहाँ पनि त्यस्तै भएको होला ।’

अर्का विज्ञ दीपेश प्याकुरेल पनि जलवायू परिवर्तनलाई मुख्य कारण मान्दैनन् । ‘छिटो ढिलो फूल्ने कुरामा एउटै कारण मात्रै हुँदैन । जलबायू परिवर्तनको असर पनि होला । तर यो निकै न्यून हो, उनी भन्छन्–तर कहिलेकाहीँ विरुवाको जीवनचक्रमा अर्लि फार्मिङ पिरियड हुन्छ । मुख्य कारण चाहीँ यही हो ।’ एकबर्ष छिटो फूल्दैमा जलवायू परिर्वतनको कारण देखाउन नहुने उनले बताए ।

काहूँमा यसअघि फागुनपछि मात्रै लालिगुराँस फूल्ने गरेको स्थानीय दामोदर आचार्यले जानकारी दिए । ‘यति छिटो गुराँस फूलेको अहिलेसम्म थाहा थिएन । अहिले पुसमै फूलेको छ, उनले भने–यसको खास कारण त हामीलाई थाहा छैन । तर फागुन भन्दा पहिले फुलेको पहिलो रेकर्ड हो ।’ उनका अनुसार २ वटा बोटमा मात्रै गुराँस फूलेको छ ।

काहूँ पोखराबाट सबैभन्दा नजिक गुराँस फूल्ने डाँडा हो । यसअघि प्रचारप्रसार नभएकोले महत्व नबुझेको स्थानीय सुनाउँछन् । यसकै प्रचारप्रसारका लागि महोत्सव समेत चलाईएको थियो । ‘पहिले मान्छेहरु खासै जाँदैनथे । यति सुन्दर ठाउँको प्रचार नहुँदा ओझेलमा परेको थियो, आचार्यले अघि भने–अघिल्लो महिना महोत्सव आयोजना गर्यौं । अहिले धेरै मान्छे काहूँ पुगेका छन् । कहिलेकाहीँ त दिनमै २ हजार सम्म पुग्छन् ।’ खासगरि पिकनिकका लागि छुट्टीको समयमा काहूँडाँडामा भीड लाग्छ ।