पोखराकी श्रेयाको बलात्कारपछि हत्या गर्ने कुसुम जेल चलान

पोखरा, असोज २४ ।
असोज ८ गते पोखरा २२ पुम्दीभुम्दीकी श्रेया सुनारको बलात्कारपछि हत्या भयो । असोज १० गते हत्या आरोपमा छिमेकी पक्राउ परे । घटना विवरण र अनुसन्धानबाट उनकै छिमेकी कुशुम पौडेल हत्यारा ठहरिए । कुसुमलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अहिलेसम्म जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनी बुधबारदेखि कारागार चलान भएका छन् ।

रक्सीले टिल परेर हिडिरहेका कुशुमले श्रेयालाई देखेपछि चकलेट किन्ने पैसा दिने लोभमा बलात्कार प्रयास गरेका थिए । श्रेयाले प्रतिकार गर्न खोजेपछि उनले झाडितिर हुत्याईदिए । श्रेया हलचल गर्न नसकेपछि त्यही मौका छोपेर कुशुमले बलात्कार गरे । पछि ढुंगाले हानेर श्रेयाको हत्या गरिदिए ।

न्यायाधीश योगेन्द्रप्रसाद साहको इजलासले मंगलबार पौडेललाई थप अनुसन्धानका लागि कारागार पठाउने आदेश गरेको हो । नेपाल सरकार वादी र कुसुम पौडेल प्रतिवादी भएको मुद्दामा न्यायाधीश साहले आदेश सुनाएका हुन् । अदालतमा मंगलबार भएको थुनछेक बहसमा कुसुमले श्रेयाको बलात्कारपछि हत्या गरेको बयान दिएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयले कुसुमविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा सोमबार जिल्ला अदालतमा दर्ता गराएको थियो । त्यसअघि अनुसन्धान रिपोर्ट र दसी प्रमाण सबै पेश गरिएको थियो । श्रेयाको दाहसंस्कार भैसकेको छ ।