पोखराका ३ स्कुल नेपालमै उत्कृष्ट, सरकारले पुरस्कृत गर्ने (कुनकुन परे ?)

पोखरा, भदौ २० ।
पोखराका तीनवटा विद्यालय नेपालमै पहिलो उत्कृष्ट भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ३९ औँ शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा उत्कृष्ट विद्यालयलाई प्रदान गरिने पुरस्कार घोषणा गरिएको छ ।

मन्त्रालयका सचिव खगराज बरालको संयोजत्वमा गठित पुरस्कार विद्यालय छनोट समितिले सामुदायिक र संस्थागततर्फ विभिन्न विधामा १२ उत्कृष्ट विद्यालय छनोट गरिएको छ । मन्त्रालयले सामुदायिक र संस्थागततर्फ माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) मा राष्ट्रियस्तरमा उत्कृष्ट हुने तीन÷तीन र माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) मा राष्ट्रियस्तरमा उत्कृष्ट हुने तीन÷तीन विद्यालय छनोट गरेको हो ।

छनौटमा परेका विद्यालयमध्ये माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) मा सामुदायिकतर्फ पोखराको अमरसिंह माध्यमिक विद्यालय पहिलो भएको छ । माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) मा राष्ट्रियस्तरमा सामुदायिकतर्फ शीतलादेवी सामुदायिक माध्यमिक विद्यालय पहिलो भएको छ भने संस्थागततर्फ प्रथम मदरल्याण्ड माध्यमिक विद्यालय पहिलो भएको छ ।

प्रथम, द्धितीय र तृतीय हुने सामुदायिक र संस्थागत विद्यालयलाई क्रमशः तीन लाख, दुई लाख र एक लाखसहित प्रमाणपत्र र शिल्ड प्रदान गरिने छ । यसपटक मन्त्रालयले केन्द्रीयस्तरमा मात्र पुरस्कार प्रदान गर्नेछ । यसैगरी दिवसको अवसरमा प्रदेश र स्थानीय तहले पनि आफ्नो क्षेत्रमा उत्कृष्ट हुने विद्यालयलाई पुरस्कार प्रदान गर्ने छन् ।

प्रदेश र स्थानीय तहमा उत्कृष्ट विद्यालयलाई पुरस्कार दिनका लागि ‘शिक्षा पुरस्कार निर्दे्शिका–२०७५’ ल्याइएको छ ।