पोखराका होटेल रेस्टुरेन्टबाट ६ बालश्रमिकको उद्धार

पोखरा, असार २८ ।
पोखराका विभिन्न होटेल तथा रेस्टुरेन्टबाट शुक्रबार ६ जना बालबालिकालाई उद्धार गरिएको छ । थोरै तलबमा कठिन काममा लगाएको उजुरीका आधारमा उनीहरुलाई उद्धार गरिएको हो । उद्धारपश्चात ती बालबालिकालाई आफन्तको जिम्मा लगाइसकिएको र काममा लगाउनेलाई कारबाही प्रक्रिया अघि बढाइएको कार्यालय प्रमुख गणेशप्रसाद श्रेष्ठले जानकारी दिए । मनिपाल मेडिकल कलेज, फूलबारी आसपासका होटेल रेस्टुरेन्टबाट ५ जना र महेन्द्रपुलको होटेलबाट १ जनालाई उद्धार गरिएको उनले बताए ।

श्रम तथा रोजगार कार्यालयको नेतृत्वमा पोखरा महानगरपालिका, पोखरा उद्योग वाणिज्य संघ, शक्ति समूह, बालहितकारी परियोजना, सिविनको सहयोगमा ती बालबालिकाको उद्धार गरिएको हो । ‘उद्धार गरिएकामध्ये १ जना बालिका हुन् भने बाँकी बालक हुन्,’ श्रेष्ठले भने, ‘५ जनालाई उनीहरुले पाउनुपर्ने न्यूनतम तलब दिलाएर आफन्तको जिम्मा लगाइएको हो ।’

आफ्नै काकाको होटेलमा काम गर्ने एक भारतीय बालक भने उद्धारपछि पनि भागेर पुनः काममै फर्किएको जनाइएको छ । कठिन काममा लगाइएका कारण उनीहरुका हात, खुट्टामा घाउ देखिएको छ । उद्धारपछि २ बालकलाई बालहितकारी परियोजना, बालिकालाई शक्ति समूह र ३ बालकलाई सिविनमा राखिएको थियो ।