पोखराका सहकारी चोर–कसरी समातिए ठगुन्ना ? (पूरा घटना पढ्नुस्)

पोखरा, असोज १७ ।
चोर्ने पनि विभिन्न कारण हुन्छन् । कोही खान नपुगेर चोर्छन् कोही धनाढ्य बन्न चोर्छन् । कोही चाहीँ फुर्मासीका लागि ज्यानको बाजी थापेर पैसा चोरी गर्छन् । पोखरामा पछिल्लो समय दिनहुँ जस्तै मनि चेन्जर र सहकारी लुटियो । दिनहुँ चोरी हुँदा समेत चोर पत्ता नलागेपछि प्रहरीमाथी नै प्रश्न उठ्न थालिसकेको थियो । लामो समय प्रहरी पनि अलमलमा प¥यो । निरन्तर छानवीन र अनुसन्धान गर्दा पनि चोर पत्ता लाग्न सकेन । पत्ता लागोस् पनि कसरी ? सुरुमै चोरीको शंका लागेर समातिएका उनै चोर कमल ठगुन्ना लाई प्रमाण पाउन नसकेपछि प्रहरीले छोडिसेकेको थियो ।

के थियो घटना, कसरी पक्राउ परे ठगुन्ना ?
धनगढीको क्याम्पस रोडमा सानो घर । ३ जनाको परिवार बस्थ्यो । कैलालीको होटल एभरेष्टमा काम गर्ने ठगुन्ना २ महिनाअघि होटलमा काम गरेको ५० हजार रुपैयाँ लिएर गोंगबु बस्ने दिदीलाई भेट्न गए । त्यसपछि उनी पोखरा घुम्न आईपुगे । २०७५ साल भदौ ८ गते प्रहरीले १० हजार रुपैयाँ र रड सहित उनलाई पक्राउ गरेको थियो । तर प्रमाण फेला पार्न नसकेपछि मुद्धा नचलाई उनलाई छोडियो । भदौको १५ र १६ गते लेकसाईडका दुई ठूला मनि चेन्जर लुटियो । तर प्रहरीले उनलाई भेटाउन सकेन । लुटेको ९६ हजार रुपैयाँ बोकेर उनी काठमाण्डौं गए । विभिन्न क्लव र डान्सबारमा मोजमस्ती गरेपछि सबै पैसा सिध्याए ।

उनी भदौ २८ गते पुनः पोखरा फर्किए । भदौ ३१ गते उनै ठगुन्नाले सिर्जनाचोकको एकता सहकारी फुटाए । ९ लाख १४ हजार रुपैयाँ बोकेर उनी पुनः काठमाण्डौं हानिए । असोज ३ गते ठमेलको डान्सबारमा उनले धेरै पैसा उडाए । रक्सीले मातिएको बेला उनको पैसा बोक्ने झोला नै चोरी भएको ठगुन्नाको दावी छ । झोला हराएपछि उनी पुनः असोज ५ गते पोखरा आए । पोखरा आएकै राती ठगुन्नाले अमरसिंहचोकमा रहेको भिजन सहकारी फुटाए । उनले त्यहाँबाट पनि ९ लाख ६७ हजार रुपैयाँ चोरी गरेका प्रहरी बताउँछ ।

पहिले नै पक्राउ परेको ठगुन्ना निरन्तर प्रहरीको निगरानीमा थिए । लुटेरा पत्ता लगाउन सादा पोशाकका प्रहरी लेकसाईडका होटल र क्लवहरुमा बसिरहेका थिए । अनावश्यक रुपमा अत्यधिक खर्च गर्न थालेपछि उनी पुनः शंकाको घेरामा परे । उनले खर्च गर्ने पैसाको श्रोत नभएको यही बीचमा प्रहरीले जानकारी लिईसकेको थियो । असोज ९ गतेको कुरा हो । ठगुन्ना पोखराका विभिन्न क्लव र डान्सबार चहारेर होटल ट्याम्पल लेक आईपुगे राती ३ बजे । ट्याम्पल लेकमा उनले दुईवटा कोठा बुक गरेका थिए । दुईवटै कोठामा दुईजना गर्लफ्रेण्ड थिए उनका ।

प्रहरी होटलमा छिरिसकेको थियो । उनको सबै विवरण पत्ता लगाएपछि प्रहरीले उनी बसेको ४ नम्बर कोठामा खानतलासी ग¥यो । उनको आडैमा थियो निलो रंगको झोला । त्यो झोलामा ५ लाख ३८ हजार रुपैयाँ नगद थियो । विभिन्न ब्राण्डका ३ थान मोवाईल थिए । त्यसपछि प्रहरीले उनी सहित दुईजना महिलालाई पनि नियन्त्रणमा लियो ।

ठगुन्ना निकै धेरै फुर्मासी थिए । महंगा ब्राण्डका सामान किन्ने आदत परिसकेको थियो । कहिलेकाहीँ ‘मसँग पैसा छ’ भनेर होटलवाला र क्लवहरुमा पनि धम्की दिने गरेको अनुसन्धानबाट खुलेको छ । ठगुन्नालाई चोरी मुद्धामा म्याद थप गरी थप अनुसन्धान अगाडी बढाईएको बैदाम प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले जानकारी दिए । ठगुन्ना पक्राउ गर्न बैदाम चौकीबाट नै सादा पोशाकका प्रहरीहरु खटिएका थिए ।

ठगुन्ना राती सडक पेटीमै सुत्थे अरु सडक बालबालिका जस्तै गरी । बोरा उडेर सुत्ने उनको साथमा रड र ढुंगा हुन्थ्यो । जब रात चकमन्न हुन्थ्यो, कोही पनि हिडडुल गर्दैनथे अनि उनी उठेर सटर फुटाउँथे । भएकोभरको पैसा झोलामा पोको पारेर उनी त्यहाँबाट भाग्थे । पछिल्लो समय उनको दैनिकी नै यसैगरी वितेको थियो ।