पोखराका वडाध्यक्ष आचार्यमाथी दुर्व्यवहार

पोखरा, कार्तिक २५ ।
पोखरा २१ का वडाध्यक्ष खगराज आचार्यलाई कार्यकर्ताले नै अभद्र ब्यवहार गरेका छन् । स्थानीय प्रकाश पौेडेलले उनीमाथी मोटरसाईकलले ठक्कर दिएर अपशब्दबाट गाली गरेका आचार्यले बताए । निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन गर्न जाने बेलामा बाटोमा रहेका आचार्यलाई मोटरसाईकलमा गएका पौडेलले ठक्कर दिएका थिए ।

‘कार्यक्रम नजिकै थिएँ । ठक्कर हानेर गयो । फर्केर आएर फेरि अपशब्द बोल्यो,’ उनले भने, ‘पहिले पनि कुर्ची उचालेर हान्न खोजेको हो । अहिले चुनाव पनि आयो, पार्टीले नबोल्नुस् भनेको छ । सहमति गरौंला भनेको भएर चुपचाप बसेको हो । उपयुक्त समय आएपछि बोलौंला ।’ आफुले कुनै गल्ती नगरेपनि अभद्र ब्यवहार गरेको उनको भनाई छ ।

पौडेलले यसअघि पनि धेरै पटक जनकारबाही हुन्छ भनेर धम्क्याएका आचार्यले सुनाए । ‘जनता सन्तुष्ट छन्, केही कार्यकर्ताको चरित्र ठीक लागेन,’ उनले भने । केही समयअघि पनि आचार्यमाथी स्थानीय दाताराम आचार्यले हातपात गरेका थिए ।

‘वहाँहरुको पहिले पनि द्धन्द्ध थियो । पहिले पनि भौतिक कारबाही गर्ने चेतावनी दिइएको सुनेको थिएँ,’ श्रोतले भन्यो, ‘वडाध्यक्ष ज्यू उभिएर फोनमा कुरा गरिरहनुभएको थियो । मोटरसाईकलले ठक्कर दिए । मोवाईल खसेर फुट्यो । प्रहरी बोलाएपनि आन्तरिक सहमति गरेर छोडिएको छ ।’

आराेपित पौडेलले चाहीँ पार्टीले नबोल्न निर्देशन दिएका कारण आफुले केही नखोल्ने बताए । ‘पार्टीको आन्तरिक कुरा हो । मिलाउने सल्लाह भएको छ,’ उनले भने, ‘म त पार्टीको कार्यकर्ता हो । पार्टीले जे निर्णय गर्छ त्यही गर्छु । पार्टीले नबोल्न भनेको छ । अहिले बोल्न चाहिन ।’