पोखराका भित्री सडकमा ट्रक र ट्याक्टर जान नपाउने

पोखरा, असोज ९ ।
यातायात ब्यवस्था समितिले पोखरा महानगरको भित्री सडकमा मालबाहक गाडी चलाउन नपाउने नीति ल्याएको छ । राजमार्ग क्षेत्रमा लोड अनलोड गर्न नदिने, ट्याक्टर निषेध गर्ने तथा निजी मोटरसाइकल भाडामा लगाउन नपाइने निर्णय भएको छ । केही दिनअघि बसेको यातायात व्यवस्था समितिको बैठकले निश्चित समय निर्धारण गरी यस्तो निर्णय गरेको हो ।
बढ्दो यातायातका साधनका कारण पोखरा नगर क्षेत्रमा ट्राफिक जामको समस्या बढेपछि त्यसलाई व्यवस्थापन गर्न यस्तो निर्णय भएको हो । यो निर्णय असोज २० गतेदेखि लागु हुनेछ।निर्णयअनुसार पोखराको भित्री सडकमा दिउँसो मालबहाक गाडी र ट्याक्टर प्रतिबन्ध गरिएको छ । मोटरसाइकल भाडामा लगाउन पाइने छैन ।
यो नियम सिद्धार्थचोक, महेन्द्रपुल, न्युरोडसम्म, औद्योगिक क्षेत्र, बिरौटा, पेन्सन क्याम्प, बुद्धचोकसम्म, अमरसिंहचोक, हस्पिटलचोक, रानीपौवा, केआइसिंह पुल, पिएन क्याम्पस, नदीपुर, पालिखेचोक, नयाँबजार, पृथ्वीचोकसम्म, ट्याक्सीचोक, विन्ध्यवासिनी, भैरवटोल, नालाको मुख, सिर्जनाचोकसम्म, रत्नचोक, राष्ट्र बैंक चोक लगायतसँग जोडिने भित्री सडकमा लागु हुने जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत अनीलकुमार शाहीले जानकारी दिए । उनका अनुसार हेभी मालबाहक गाडीलाई राजमार्गमा चल्न दिइने छ तर लोड अनलोड गर्न दिइने छैन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख विश्वराज अधिकारीका अनुसार चाडपर्वको समयमा बढी भाडा असुली गर्ने सार्वजनिक गाडीको अनुगमन गरी आवश्यक कारबाही गर्ने अधिकार जिल्ला प्रहरी कार्यालयलाई दिइएको छ ।सडकमा चल्ने कुनै पनि मोटर साइकलले ८० डेसिबलभन्दा बढी आवाज निकाल्न पाउने छैनन् ।रातो प्लेटका मोटरसाइकलहरु भाडामा लगाउने कार्य निषेध गरिएको छ । भाडामा लगाएको पाइए कारबाही हुने अधिकारीले जानकारी दिए ।
हर्न निषेधित क्षेत्र घोषणा गरिएको पोखरा लेखनाथ महानगरमायो निर्णयसँग ट्राफिक व्यवस्थापनमा सुधार आउने विश्वास लिइएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा सरोकारवाला यातायात व्यवस्था कार्यालय गण्डकी, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, यातायात सम्बद्ध व्यवसायी समितिका प्रतिनिधि, यातायात सम्बद्ध मजदुर संगठनका प्रतिनिधि सहभागी थिए ।