पोखराका बसमा सुरु भयो ई–टिकेटिङ

 

पोखरा, साउन २६ ।

पोखरामा चल्ने सार्वजनिक यातायातमा अब विद्युतीय प्रणालीबाट पैसा तिर्ने ब्यवस्था मिलाईएको छ ।

पोखरा महानगरपालिकाको संयोजनमा शुक्रबारदेखि १३ वटा बसमा इ–टिकेटिङ लागू गरिएको छ । सिमपानीदेखि आँखा अस्पताल पुग्ने रुटका गाडीहरुमा मेसिन जडान गरेर कार्ड मार्फत पैसा तिर्न मिल्ने बनाईएको छ । भदौ १ गतेभन्दा पहिले नै नगरमा चल्ने सबै बसमा इ–टिकेटिङ सिस्टम जडान भैसक्ने छ । साउन मसान्तसम्म परीक्षण गरेर भदौ लागेपछि पूर्ण रुपमा कार्ड सिस्टम लागू गर्ने तयारी छ ।

पहिलो चरणमा छोटो दुरिमा ब्यवस्था गरिएको इ–टिकेटिङ सिस्टम विस्तारै लामा दुरीका गाडीमा पनि राखिने यातायात ब्यवसायीहरु बताउँछन् । एन क्लाउड नामक संस्थाले प्राविधिक पक्ष ब्यवस्थापन गर्ने जिम्मा लिएको छ । बस व्यवसायी र यात्रु दुवैलाई सुविधा हुने गरी विद्युतीय मेसिनबाट पैसा तिर्ने ब्यवस्था मिलाईएको कम्पनीका प्रमुख दीपेन्द्रनारायण श्रेष्ठले बताए । ‘यात्रुलाई तोकिएकै भाडादरमा पैसा तिर्न मिल्छ । ब्यवसायीले पनि कति यात्रु चढे र कति आम्दानी भयो सोझै थाहा पाउन सक्छन्,’ उनले भने, ‘समय र पैसा दुवैको बचत हुनेछ । यात्रु ठगिने सम्भावना पनि रहँदैन ।’ बैशाख पहिलो दिनदेखि नै इ–टिकेटिङ प्रणाली सञ्चालन गर्ने लक्ष्य भएपनि तयारी नपुगेका कारण ५ महिना ढिलो भएको हो । अहिले नगर बसमा राखिने र विस्तारै ट्याक्सी र अन्य सार्वजनिक बसहरुमा पनि जडान गर्ने श्रेष्ठको भनाई छ ।

‘महानगरले स्मार्ट सिटी बनाउने भनेको छ । हामी पनि स्मार्ट सेवा दिएर यो अभियानमा सघाउन लागेका हौं,’ पोखरा बसका महासचिव अमृत शर्माले भने, ‘अरु भन्दा पहिले यातायात क्षेत्रलाई स्मार्ट बनाउछौं ।’ तत्कालको लागि नगद र कार्ड दुबै सिस्टमबाट पैसा लिने र कार्ड वितरणलाई बढाउँदै नगद कारोबार बन्द गर्ने उनको भनाई छ । पोखराका वडा कार्यालय, बस सञ्चालक समितिका कार्यालयहरु, ओम डेभलोपमेण्ट बैंकका शाखाहरुबाट कार्ड खरिद गर्न सकिने शर्माले जानकारी दिए ।

बैंकिङ ब्यवस्थापनका लागि ओम डेभलोपमेण्ट बैंकसँग समन्वय गरिएको छ । यात्रुले कार्ड लिँदा १ सय रुपैयाँ धरौटी राख्नुपर्छ । कार्ड लिएपछि बोनस स्वरुप सित्तैमा १ सय रुपैयाँ रिचार्ज हुन्छ । पछि त्यसलाई फिर्ता गर्दा धरौटी रकम फर्काइने छ । परिचय खुल्ने कागजात र २ प्रति फोटो बुझाएर कार्ड लिन सकिन्छ ।

भदौ अघि नै २० हजार कार्ड वितरण गर्ने यातायात ब्यवसायीको लक्ष्य छ । यसलाई बढाएर पोखरामा मात्रै ३ लाख कार्ड वितरण गरिने महासचिव शर्माले बताए । इ–टिकेटिङको लागि बसका सहचालकलाई एउटा उपकरण दिईने छ । त्यही मेसिनबाट यात्रुसँग भएको कार्ड देखाएर पैसा बुझाउन मिल्छ ।

महानगरका मेयर मानहादुर जिसीले यात्रुको सहजताका लागि स्मार्ट कार्ड सुरु गरिएको बताए । ‘यात्रुहरु यति छोटो यात्रा गर्दा पनि ठगिन्छन् । ठगिएका उजुरी पनि पर्छन । तर कारबाही कसरी गर्ने ?’ उनले भने, ‘प्रविधिले नै बाँधेपछि कसैले गलत गर्न सक्दैन । यसले ब्यवसायी र स्टाफलाई पनि फाईदा छ ।’