पोखराका पर्यटन व्यवसायीलाई चिनियाँ भाषा

पोखरा, माघ ९ ।
पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीलाई लक्षित गरी नेपाल पर्यटन बोर्डले चिनियाँ भाषाको आधारभूत कक्षा सुरु गरेको छ । साइनो नेपाल मिडिया सोसाइटीको व्यवस्थापन तथा काठमाडौँ विश्वविद्यालय कन्फुसियस इन्स्टिच्युटको सहयोगमा बोर्डको पोखरा ड्यामसाइटस्थित प्रदेश नम्बर ४ कार्यालयमा उक्त कक्षा सञ्चालन गरिएको हो । प्रतिनिधिसभाका सदस्य रवीन्द्र अधिकारीले सोमबार चिनियाँ कक्षाको उद्घाटन गर्दै चिनियाँ भाषाको ज्ञानले पर्यटन उद्यमशीलतासमेत बढाउने बताए । सन् २०२० सम्ममा २० लाख पर्यटक नेपालमा भित्र्याउने लक्ष्य राखिएको उल्लेख गर्दै उनले हाल घट्दै गएको विप्रेषणलाई पर्यटन क्षेत्रबाट आउने विदेशी मुद्राको आम्दानीबाट पूर्ति गर्न सकिने उल्लेख गरे ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले नेपालको पर्यटन क्षेत्रलाई सुधार गरी चीनबाट मात्र होइन विश्वका अन्य देशबाट समेत भित्र्याउनको लागि काम भइरहेको जानकारी दिए । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले चिनियाँ भाषाले नेपाली र चिनियाँ नागरिकबीचको सम्बन्धलाई प्रगाढ बनाउने बताए । काठमाडौँ विश्वविद्यालय कन्फुसियस इन्स्टिच्युटका निर्देशक प्रा डा वाङ सङलीले चिनियाँले विदेशी भाषामा बोल्न नचाहने भएकाले नेपालको पर्यटकीय क्षेत्रमा लागेकाले चिनियाँ भाषाको आधारभूत ज्ञान अनिवार्यरुपमा हासिल गर्नुपर्ने बताए ।
आर्थिक रुपमा तीव्र विकास गरिरहेको चीनले विश्वबजारमा आफ्नो हिस्सा बढाउँदै गएकाले चिनियाँ भाषाको महत्व विश्वभर बढ्दै गएको साइनो नेपाल मिडिया सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले बताए । कुल ८० घन्टा अवधिको चिनियाँ भाषाको आधारभूत कक्षामा ८० भन्दा बढी पर्यटन व्यवसायीको सहभागिता रहेको छ । भाषा प्रशिक्षणका लागि काठमाडौँ विश्वविद्यालय कन्फुसियस इन्स्टिच्युटले दुई जना व्यावसायिक चिनियाँ शिक्षकको व्यवस्था गरेको छ । रासस