पोखराका नयाँ घरमा अन्डरग्राउण्ड अनिवार्य, पातले छाँगोमा शिशा पुल बनाईने

प्रकाश ढकाल
पोखरा, असार ९ ।
पोखराको अहिले टड्कारो समस्या हो, सडक पार्किङ । ट्राफिक ब्यवस्थापन पोखराका लागि निकै ठूलो चुनौति बनिरहेको छ । एकातिर बसपार्क र अर्कातिर बाईपास सडक नहुँदा लामो दुरिका गाडी समेत बजार क्षेत्रबाट पास हुन्छन् । यस्तै पोखरामा पछिल्लो समय अब्यवस्थित रुपमा थपिएका नगरबस र निजी गाडीहरु पनि ट्राफिक ब्यवस्थापनको चुनौती हुन् ।

पोखरा महानगरले यसलाई ब्यवस्थापन गर्न अव बन्ने घरमा अण्डरग्राउण्ड पार्किङ अनिवार्य गरेको छ । आईतबार नीति तथा कार्यक्रम प्रश्तुत गर्दै मेयर मानबहादुर जिसीले पोखराका मुख्य शहरी क्षेत्रमा निर्माण हुने नयाँ घरमा अण्डरग्राउण्ड पार्किङ अनिवार्य गरिएको जानकारी दिए । ‘दिनानुदिन बढिरहेको सवारी चापलाई न्यूनिकरण गर्न नयाँ बन्ने भवनहरुमा नक्सापास गर्दा अन्डरग्राउण्ड पार्किङ अनिवार्य गरिएको छ,’ उनले भने ।

बेगनासताल, तालचोक, विजयपुर, अमरसिंहचोक, पृथ्वीचोक, जीरोकिलोमिटर, हल्लनचोक, मुस्ताङचोक, विरौटा, नयाँबजार, महेन्द्रपुल, पालिखेचोक, नदीपुर, केआईसिं पुल, लामाचौर, बाटुलेचौर, महेन्द्रगुफा, न्यूरोड, लेकसाईड, रत्नचोक, सिर्जनाचोक, घलेचोकदेखि वन क्याम्पससम्म, रामबजार, रानीपौवा, भद्रकाली लगायतका क्षेत्रमा अण्डरग्राउण्ड पार्किङ अनिवार्य बनाईएको छ ।

मुख्य चोकहरु महेन्द्रपुल, पृथ्वीचोक र सिर्जनाचोकमा ट्राफिक लाइट राख्ने यसअघिकै कार्यक्रमलाई महानगरले निरन्तरता दिएको छ । चालू बर्षभित्रै ट्राफिक लाईट राखिसक्ने तयारी थियो । पार्किङ ब्यवस्थापनका लागि बहुतला पार्किङ प्रणाली सुरु गर्ने कार्यक्रम पनि अघि सारिएको छ । पार्किङ स्थल निर्माणका लागि कसैले घर बनाउन चाहेमा नक्सापास दस्तुर मिनाहा गरिदिने मेयर जिसीले बताए ।

सडकमा पार्किङ गरेर कर असुल्ने अधिकार कसैलाई पनि छैन । तर पोखरा महानगरपालिकाले लामो समयदेखि सडकमै पार्किङ गराएर उपभोक्ता सँग कर असुल्दै आएको छ । अहिले पनि सडक पार्किङ ठेक्काको अन्तिम चरणमा पुगेको छ । नाईस नेपाल कन्स्ट्रक्सनलाई ३ करोड ६५ लाख रुपैयाँमा ठेक्का दिने तयारी गरिएको हो । तर आईतबार प्रश्तुत गरिएको नीति कार्यक्रममा चाहीँ सडक छेउमा हुने पार्किङलाई निरुत्साहित गर्ने नीति लिएको छ ।

‘महानगर क्षेत्रमा पार्किङ ब्यवस्थापनलाई थप प्रभावकारी बनाइने छ । यातायातमा सहजता ल्याई तथा पैदल यात्रुहरुको सुविधालाई समेत मध्यनजर गरी हाल सडक छेउमा पार्किङ गर्ने कार्यलाई निरुत्साहित गरिनेछ । व्यक्तिगत तथा खाली जग्गाहरुको पहिचान गरी त्यस्ता जग्गाहरुमा सार्वजनिक निजी साझेदारीमा कमर्सियल पार्किङ बनाईने छ,’ नीति कार्यक्रममा उल्लेख छ ।

लेखनाथ स्थित लामेआहालमा आधुनिक बसपार्क निर्माण गर्ने प्रश्ताव पनि प्राथमिकताका साथ अघि सारिएको छ । प्रदेश सरकारले पनि यसलाई मुख्य प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको थियो । यसको लागि डीपीआर बनिसकेको छ । आगामी आर्थिक बर्षदेखि प्रदेश र महानगरको सहकार्यमा निर्माणको काम सुरु हुने बताईएको छ । पृथ्वीचोकमा सिटी बसपार्क बनाउन आवश्यक प्रक्रिया अघि बढाईने मेयर जिसीले बताए ।

प्रत्येक वडामा नमुना सहकारी चलाएर विशेष उत्पादनमुलक क्षेत्रमा लगानी प्रोत्साहन गर्ने, प्रत्येक प्रदेश निर्वाचन क्षेत्रका ६ ठाउँमा प्रविधिमैत्री विद्यालय सञ्चालन गर्ने, अर्गानिक उत्पादनमा जोड दिने, फुटपाथ ब्यवसायलाई निरुत्साहित गर्दै एकीकृत बजार बनाउने, पत्रकार उपचार कोष सञ्चालन गर्ने, महानगर युवा परिषद् तथा खेलकुद विकास समिति गठन गर्ने, गोस्तेघाट, भण्डारढिक, आर्बा र विजयपुरमा आधुनिक खेल मैदान र पोखरा २० मा हाईअल्टिच्युट खेल मैदान निर्माण गर्ने, प्रज्ञा प्रतिष्ठान गठन गरी भाषा, संस्कृति, कला र साहित्यको संरक्षणमा जोड दिने, मापदण्डभित्र बनेका र नक्सापास नलिएका घरलाई बैधानिक बनाउन र नक्सापास प्रमाणपत्र दिन विशेष ब्यवस्था मिलाउने महानगरको कार्यक्रम छ ।

पोखरामा साढे ३ तला भन्दा अग्लो भवन बनाउन पाईंदैन । नियम र मापदण्ड अनुसार बनेका घरको पनि नक्सापास छैन । मापदण्ड विपरितका संरचनाको नक्सापास हुने कुरै भएन । नियम र मापदण्ड मिचेर १० तलासम्मको घर बनिरहेका छन् । तर महानगर मौन छ ।

तालमा लिकं रोड, किनारमा पैदलमार्ग

नगरभित्रका सबै ताल र गुफालाई जोड्ने गरि सडक संरचना निर्माण गरिने महानगरले जनाएको छ । ‘लेक टु लेक र केभ टु केभ’ जोड्ने सडकको प्राविधिक सर्वेक्षण गरी नमुना मार्गको रुपमा अगाडि बढाउने नीति तथा कार्यक्रममा समेटिएको छ । ९ वटै तालको वरिपरी पैदल मार्ग समेत निर्माण गरिने छ । सबै तालको अतिक्रमण रोकी सौन्दर्यीकरणका लागि पैदलमार्ग बनाउन लागिएको हो ।

यस्तै, फेवाताल जलाधार क्षेत्र संरक्षणका लागि सिल्ट्रेसन ड्याम निर्माण आगामी बर्षभित्रै सक्ने महानगरको लक्ष्य छ । शान्तिवन बाटिकालाई बोटानिकल गार्डेनका रुपमा विकास गर्ने, सुन्दरीडाँडामा रहेको पचभैया सामुदायिक वन क्षेत्रलाई जैविक विविधता संरक्षण केन्द्र बनाउने कार्यक्रम पनि छन् । पचभैया क्षेत्रका लागि प्रदेश सरकारले पनि ५ करोड रुपैयाँ विनियोजन गरिसकेको छ । सेती गर्जलाई साहासिक पर्यटन पूर्वाधारको रुपमा विकास गर्ने र पातलो छाँगोमा सिसाको पुल निर्माण गर्ने कार्यक्रम अघि सारिएको छ ।

दुई बर्षमा १९ किलोमिटर सडक नमुना

पोखराभित्र रहेका मुख्य दुईवटा सडकलाई दुई बर्षभित्रमा नमुना बनाईसक्ने योजना छ । यसका लागि मेयर नमुना पूर्वाधार योजना कार्यक्रम घोषणा गरिएको छ । सिद्धार्थचोकदेखि विपीचोक–सभागृह हुँदै पृथ्वीचोक–सिर्जनाचोक–हल्लनचोक र त्यहाँबाट राष्ट्रबैंक चोकसम्मको सडक र महेन्द्रपुल–नयाँबजार सडकलाई नमुना बनाउन लागिएको हो ।

यूरो मापदण्डको फुटट्रयाक, साईकल ट्रयाक, सर्भिस स्टेसन, हरियाली डिभाईडर र स्तरीय सडक बन्ने छ । दुई सडकको १९ किलोमिटर दुरीमा प्रारम्भीक अध्ययन भैसकेको र आगामी बर्षदेखि काम नै सुरु हुने महानगरले जनाएको छ । महानगरले सबै वडामा पुग्ने गरी कनेक्टिङ सडक निर्माणको काम पनि गरिरहेको छ ।

पुँडिटारमा औद्योगिक क्षेत्र

पोखरा ३३ पुँडिटारमा औद्योगिक विकास लिमिटेडसँगको सहकार्यमा महानगरले औद्योगिक क्षेत्र बनाउने तयारी गरेको छ । यसको आवश्यक अध्ययन सकिएको र निर्माणको काम केही समयमै सुरु हुने छ । यसमा सहयोग पुग्ने उद्देश्यले आगामी बर्ष महानगरले घारीपाटनदेखि दोविल्ला हुँदै पुँडीटारसम्म नमुना सडक बनाउने कार्यक्रम सार्वजनिक गरेको छ । यही ठाउँमा प्रदेश सरकारले पनि औद्योगिक क्षेत्र बनाउन संघ सरकारलाई सिफारिस पठाएको छ ।

तर महानगरले आफ्नै औद्योगिक क्षेत्र बनाउने भन्दै प्रदेशसँग समन्वय गर्न आवश्यक नरहेको जवाफ फर्काएको छ । महानगरले नयाँ ल्याण्डफिल्डका लागि पनि तदारुकता देखाएको छ । अहिलेको ल्याण्डफिल्ड पूरानो भैसकेको र एयरपोर्टका कारण त्यसलाई विस्थापन गर्नुपर्ने भएपछि महानगर तातिएको हो । १५ बर्षे आयु तोकेर २०६१ सालमा बनाईएको ल्याण्डफिल्डको मिति पूरा भयो ।

आगामी बर्ष महानगरले पूर्वाधार र पर्यटनमा बढी जोड दिएर नीति कार्यक्रम बनाएको छ । महानगरको बजेट १० गते आउँदै छ । ७ अर्व हाराहारीमा बजेट ल्याउने तयारी छ ।

Photo-Prem Thapa