पोखराका गाई गोरु झापा हुँदै बंगलादेशमा तस्करी !

कमल पौडेल ‘अथक’
पोखरा, साउन १८ ।
पोखरावाट गाई गोरु कागजी प्रक्रिया पुर्याएर तस्करी हुने गरेको खुलासा भएको छ । व्यवसायिक प्रयोजन भन्दै पोखरावाट हेटौंडा र झापामा यी गाई गोरु लैजाने गरिएको छ । झापा पुर्याएपछि ती गाई गोरु सिधै वंगलादेश तस्करी गर्ने एउटा गिरोह नै फेला परेको छ । सो गिरोहले मासिक ३ ट्रक गाई गोरु तस्करी गर्दै आएको छ ।

ना ५ ख १४०४ नंवरको मालवाहक ट्रकमा नेपालको राष्ट्रिय झण्डा फहराउँदै ती गाई गोरु तस्करी गरिएको भेटिएको छ । त्यो गिरोह सँग पोखरा महानगरका केही कर्मचारीहरु पनि संलग्न देखिएका छन् । महानगरका माथिल्लोदेखि तल्लो तहसम्मका केही कर्मचारीले तस्करहरु सँग सेटिङ मिलाएर यिनै गाई गोरु तस्करी गर्दै आएको भेटिएको छ । महानगरवाट मासिक ३ ट्रक गाई गोरु तस्करी हुँदा समेत महानगर कै अन्य कर्मचारी र जनप्रतिनिधिले पत्तो पाउँदैनन् ।

तस्करहरुलाई गाई गोरु सेटिङ गरिदिए वापत यी कर्मचारीले तस्करहरुवाट मोटो रकम असुल्ने गरेको महानगर श्रोतको दावी छ । यसै गरी पोखरामा बुधवार रातको १२ वजे पक्राउ परेका २२ वटा गोरु जिल्ला पशुसेवा कार्यालय कास्कीले पुन वडा प्रहरी कार्यालय वैदाम मै फिर्ता गरेको छ । पोखराको वडा नं २३ को चलानी अनुसार पामेवाट पोखरा ल्याउँदा पक्राउ गरिएका एक ट्रक गोरु कार्यालयले शुक्रवार फिर्ता गरेको हो ।

वडा प्रहरी कार्यालय वैदामले स्थानीयवासीको दवावमा वुधवार मध्यरातमा नियन्त्रणमा लिएका एक ट्रक गोरु विहीवार पशु कार्यालयमा लगेर वुझाएको थियो । यसरी वुझाएका गोरुको सवै स्वास्थ्य ठिक छ भन्ने पत्र पोखरा पामेका गोरु संकलक प्रेमवहादुर थापालाई थमाउँदै पशु कार्यालयले शुक्रवार गोरु फिर्ता गरेको हो । उनै प्रेमवहादुरले महानगरका कर्मचारीको मिलेमतोमा गाउँमा रहेका गाई गोरु संकलन गरी तस्करहरुलाई वुझाउने विचौलियाको भूमिका निभाउँदै आएका छन् । लाई गोरु खोजिदिन भने मैले खोजिदिएको हुँ दुःख गरेपछि केही नपाए त के अर्थ भो र’–थापाले भने । गोरु संकलन गरिदिए वापत तस्करहरुले थापालाई पनि पैसा दिने गरेको उनकै भनाइवाट प्रष्ट हुन्छ ।

यता पशु कार्यालयले दिएको गोरुको स्वास्थ्य ठीक छ भन्ने पत्रमा गोरु जोत्न वा अन्य प्रयोजनको लागि ठीक भन्ने वारे केही खुलाइएको छैन । यद्धपि पोखरा २३ ले भने गोरु व्यवसायिक प्रयोजनको लागि भन्दै पत्र थमाएको छ । हामीले गोरुको स्वास्थ्य मात्र हेर्ने हो सवै ठिकै देखियो पशु स्वास्थ्य अधिकृत ठगेन्द्रप्रसाद अर्यालले भने ।

यसरी एउटै ट्रकमा खाँदेर राखिएका २२ वटा गोरु झापाको मेची नगर नगरपालिका लैजान थालिएको हो । त्यहाँवाट यी गोरु सिधै वंगलादेश लैजाने र मासु र छालाको रुपमा प्रयोजनमा आउने व्यापारीहरुले वताए । उनीहरुले पोखराको पामेवाट प्रति गोरु ९ हजारदेखि १५ हजार सम्ममा खरिद गरेको वताए । यी गोरु झापा पुर्याउँदा एउटाको वोलेको ६० हजार पर्ने उनीहरुको भनाई छ ।