पूर्व राजा ज्ञानेन्द्रले भनेः देशको बारेमा समिक्षा गर्न अवेर भैसक्यो

पोखरा, पुस २७ ।
पूर्व राजा ज्ञानेन्द्र शाहले देशको राजनीतिको विषयमा समीक्षा हुन बिलम्ब भइसकेको बताएका छन् । उनले नेपाली जनताले व्यहोरिरहेको वर्तमान राजनीति कति इमान्दार र राष्ट्र केन्द्रित छ र कति जनहित अनुकुल छ भन्ने प्रश्न गर्दै यसको बारेमा समीक्षा गर्ने समय आएको उल्लेख गरेका छन् ।

२ सय ९९ औ पृथ्बी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसर पारेर आइतबार एक विज्ञप्ती जारी गर्दै पूर्व राजा शाहले देशमा परिवर्तनको नाममा आफ्नो इतिहास, सभ्यता, धर्म, संस्कृति र एकता भत्काउँदै पराया इच्छा पूरा गर्ने अवाञ्छित क्रियाकलाप भित्रिएको महसुस आम नेपालीले गरिरहनु परेको बताए ।

उनले राष्ट्रिय अखण्डताका निम्ति एकताको गाँठो बलियो पार्नु पर्ने औचित्य टड्कारो देखिएको उल्लेख गर्दै अहिले देश कसरी बचाउने भन्ने चिन्ता थपिएकोमा जोड दिए ।

विज्ञप्तीमा पूर्व राजा शाहले दैविक आर्शीवाद, अध्यम्ह साहस, पौरख , कुटनीतिक कौशलतको अद्धितीय क्षमताबाट पृथ्बीनारायण शाहले नेपालको एकीकरण गरेको र नेपालको निर्माणमा हरेक जातिको, भाषाभाषीको र सांस्कृतिक समुदायका आ–आफ्नै विशिष्ट योगदान रहेको उल्लेख गरे ।

नेपाली भनेको नेपाली नै हुन कुनै अर्को जलप लगाएर नेपाली नहुने भन्दै पूर्व राजा शाहले राष्ट्रको स्वाभिमान र स्वाधीनता रक्षाका लागि पृथ्बीनारायण शाहको दिव्योपदेशको मनन गर्न अझै आवश्यक रहेको बताएका छन् ।