पूर्वराजा ज्ञानेन्द्र शाहको लेखः मलाई राजा बनेर देश हाँक्ने कुनै रहर र लहड थिएन

पूर्वराजा ज्ञानेन्द्र शाह
सिंगो नेपाल राष्ट्रका निर्माणकर्ता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको वंशवृक्ष, प्रजातन्त्रदाता श्री ५ त्रिभुवनको पौत्र र नेपाली राष्ट्रवादका पृष्ठपोषक राजा महेन्द्रको मध्यम पुत्र एवं विकास चिन्तक राजा वीरेन्द्रका भ्राताका रुपमा हाम्रो मातृभूमि नेपालमा म पैदा भएँ ।

सदा शान्त, सौम्य, सुन्दर यो गौरवशाली स्वाधीन नेपाल राष्ट्रमा जन्मन पाएको, यहाँकै माटोमा हुर्कन पाएको र यहीँको धर्तीको सेवामा जुट्न रम्न पाएकोमा म आफूलाई भाग्यशाली ठान्दछु । म नेपालको भक्त हुँ । देशभक्ति मेरो रक्त कण कणमा प्रवाहित छ । नेपालको प्रकृतिप्रति मेरो अगाध प्रेम छ। यही मनोहारी प्रकृतिको संरक्षण संवर्द्धन र सम्मोहनमा मेरो मन निमग्न रहेको पनि हो । मेरो त्यो आस्था, आफ्नो प्रकृतिसँगको त्यो नाता, मोह ममता आज पनि उत्तिकै छ ।

हो म राजकुलमा जन्मेँ । नेपालको राज परम्परा सदा नै लोकहितकारी रह्यो, त्यसमा मलाई गर्व छ । आफ्नो देश, आफ्नै देशको माया गर्ने र आफ्नो वंश परम्पराको सम्मान गर्ने एक भावुक प्रकृतिको मान्छे म । म डाँडाकाँडा घुमेँ । पाखा पर्वत पुगेर रमाएँ । तराईका वैभवशाली समथर फाँट एवं वस्ती–वस्तीमा पुगेर मैले हाम्रो प्राकृतिक तथा सामाजिक विविधता तथा विकास र पछौटेपनको सूक्ष्म अध्ययन पनि गरेँ । कैयन् नदीनाला खोला खाल्सी तरेँ । भावुकतावश यही नेपालको गीत गुन्गुनाएर रमाएँ ।

नेपालको इतिहास, यहाँको प्रकृति, सामाजिक संरचना र अवस्था व्यवस्थालाई आत्मसात् गरेर प्रकृति संस्कृति तथा परिस्थितिमा रमाएको मलाई नेपालको ठूलो महान् र विशिष्ट मान्छे बन्ने लालसा थिएन । मैले पछि थाहा पाएँ, अवोध बाल्यावस्थामै मेरो शीरमा नेपाल राष्ट्रको श्रीपेच पर्हियाइयो । त्यो इतिहासले अंकित गरेको विषय भएर पनि मलाई त्यस मानेमा गर्वको कुनै अनुभव रहेन । जान्ने बुझ्ने भएपछि मैले आफ्ना बुवाज्यू राजा महेन्द्रको शासनकालमा र दाज्यैज्यू राजा वीरेन्द्रको राज्यकालमा उहाँहरुलाई सघाउने तथा उहाँहरुका समीप भावपूर्वक रहेर नेपाली प्रकृति तथा यसको समुन्नतितर्फ नै आफूलाई समर्पित राखेँ ।

वि.सं. २०५८ को जेठमा आएर नेपालमा एक अकल्पनीय दुःखद अत्यन्त मर्माहत घटना घट्यो । जो सबैका निम्ति त्राशदीपूर्ण थियो, आश्चर्यकारी थियो। अचानक ममाथि ठूलो बज्रपात भयो। सोच्दै नसोचेको आफ्नै वंश नाशको पीडा मैले भोग्नु र्पयो । राजा वीरेन्द्र, रानी ऐश्वर्यसहित मेरा दाजु–भाउजू, भाइ–भतिज, धेरैको वियोगको वेदना भोग्नु र्पयो ।

पूरा पढ्नुस्