पूरानो ब्यवस्था फर्काउने चलखेल सुरु भोः नेपाल

 

पोखरा, साउन ३२ ।

नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले नेपालमा फेरि पूरानो शासन ब्यवस्था फर्काउने चलखेल सुरु भएको बताएका छन् । राजसंस्थाप्रति लक्षित गर्दै उनले परिवर्तन विरोधी तत्व पूरानो ब्यवस्था फर्काउन चलमलाईरहेको बताए । ‘अहिले पनि परिवर्तनका विरोधीहरु चलमलाईरहेका छन् । पूरानै ब्यवस्था फर्काउने सपना देख्न थालेका छन् । हामी सचेत भएनौं भने कुनै पनि समयमा निकै ठूलो बदमासी हुन सक्छ । नेपाली जनता फेरि पछाडी फर्कन चाहादैनन् । बंशको शासन नेपाली जनतालाई स्विकार्य छैन,’ उनले भने ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको गण्डकी प्रदेश स्तरीय पहिलो अधिवेशनलाई पोखरामा सम्बोधन गर्दै नेता नेपालले परिवर्तनको संबाहक कम्युनिष्ट पार्टी मात्रै भएको दावी गरे । ‘त्यतिबेलाको आन्दोलनमा राजतन्त्रलाई चुनौति दिईएको थियो । सुनामीको श्रृष्टी गरिएको थियो । यसको अगुवाई अरुले होईन कम्युनिष्टले गरेका थिए । परिवर्तनको संबाहक भनेको नेपाल कम्युनिष्ट पार्टी हो अरु होईन । अहिले विपक्षीहरु कम्नयुनिष्ट पार्टी र लोकतन्त्रलाई कमजोर बनाउन लागिरहेका छन्’ उनले भने, ‘लामो समयदेखिको लोकतन्त्र प्राप्तीको एउटा चरण पूरा भएको छ । अव यसको सही उपयोग गर्ने दायित्व पनि कम्युनिष्टको काँधमा आएको छ । यो जिम्मेवारी सफलता पूर्वक सम्पन्न गर्नुपर्छ ।’

नेकपा एकीकरणमा गुटगत विभेद भएको भन्दै उनले एकीकरण प्रक्रियामा पनि विरोध जनाए । ‘पार्टी चलाउन विधि पद्धतीको पालना गर्नुपर्छ । जथाभावी कमिटी गठन गर्न थालियो भने एकीकरणको नाममा होस्, गठनको नाममा होस त्यस्तो अवस्थामा समस्या खडा हुन पुग्छ र त्यसले पार्टीलाई कमजोर बनाउँछ,’ पार्टी नेतृत्वलाई संकेत गर्दै उनले भने, ‘साथीहरु गुटबन्दी बन्द गर्नुस् । अन्याय गर्ने काम नगर्नुस् । मापदण्डमा टेकेर एकीकरण गर्नुस् । हिजो जो जुन कमिटिमा थिए त्यसलाई हेरेर एकीकरण प्रक्रिया टुंग्याउनुपर्छ । आँफुखुशी बीचबाट मान्छे छिराउने काम किमार्थ नगर्नुस् । हामीले छानविन गर्दैछौं । कुनै ठाउँमा अन्याय भएको छ भने छानविन गरेर कारबाहीको भागिदार बनाईने छ ।’

पूर्व प्रधानमन्त्री समेत रहेका उनले सत्तामा पुगेपछि सत्ताको मात लाग्ने खतरा रहेको भन्दै त्यसबाट जोगिन सरकारलाई सुझाए । ‘सत्तामा पुगेपछि सत्ताको मात लाग्ने खतरा हुन्छ । त्यस्तो मात लाग्नुहुँदैन । हामी विनम्र हुनुपर्छ । आलोचना सुन्ने सामथ्र्य हुनुपर्छ । कहाँ गल्ती भयो भनेर खोज्नुपर्छ र सच्याउनुपर्छ,’ उनी भन्छन्, ‘आलोचना गर्न सजिलो छ । तर काम गर्न गाह्रो छ । अहिले मुलुकमा कम्युनिष्ट पार्टीलाई राम्रो बनाउने बाहेक अरु विकल्प छैन । त्यसमा सबैले साथ दिनुपर्छ ।’ उपनिर्वाचन केन्द्रीत भएर उनले अन्तरघात नगर्न कार्यकर्तासँग आग्रह गरे । टिकट वितरणमा सुझबुझ अपनाउन आग्रह गर्दै उनले चुनावका बेला रिस पोख्न नहुने तर्क गरे ।