पुलिससँग मनाङ स्तब्ध

पोखरा, माघ १६ ।
मनाङ मस्र्याङदीलाई पाखा लगाउँदै विभागीय टीम नेपाल पुलिस क्लव पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाईनल प्रबेश गरेको छ । मंगलबार भएको अन्तिम क्वाटर फाईनल खेलमा पुलिसले मनाङलाई ३–१ गोलअन्तरले पराजीत गर्यो । पुलिसको जीतमा निरकुमार राई, दिनेश राजबंशी र सुमन लामाले गोल गरे । ५३ औं मिनेटमा निरकुमारको गोलबाट अग्रता लिएको पुलिस ५७ औं मिनेटमा दिनेशको गोलबाट दोब्बरले अग्रता लियो । ७२ औं मिनेटमा सुमनले अर्को गोल थपे । ८२ औं मिनेटमा विशाल राईले सान्त्वना गोल गरेपनि मनाङले हारलाई टार्न सकेन । पहिलो हाफसम्म गोलरहीत बराबरी खेलेको मनाङ दोश्रो हाफमा खासै सम्हालिन सकेन ।
आहा रारा गोल्डकपको इतिहासमा नेपाल पुलिस र मनाङ मस्र्याङदीले एकछत्र राज गरेका छन् । १५ औं संस्करण सकिँदासम्म क्याराभान गोल्डकपदेखि मनाङ र पुलिसले समान ५–५ पटक उपाधी जितेका छन् । त्यसो त तीन पटकसम्म यि दुई क्लव फाईनलमै आमनेसामने भएका छन् । दुई खेल मनाङको पक्षमा पर्यो भने एउटा खेल पुलिसको हातमा गयो । अर्को रोचक चाहीँ हालसम्म मनाङ र पुलिस ६ पटकसम्म आमनेसामने भएर हारजीत भएको छ ।

तस्विर-सुदर्शन रञ्जित