पुनः नियुक्तिको माग आईतबार पनि महानगरमा सामाजिक परिचालकको धर्ना

पोखरा, वैशाख २३ ।

पुनः नियुक्तिको माग गर्दै लामो समयदेखि आन्दोलनरत कास्कीका सामाजिक परिचालकहरुले आईतबार पनि पोखरा लेखनाथ महानगरपालिका कार्यालयमा धर्ना दिएको छन् । उनीहरुले तत्कालै पुनर्वहाली माग गर्दै नारावाजी सहित महानगरमा धर्ना दिएका हुन् । पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पठाएपछि उनीहरु झन् आक्रोशित भएका छन् ।

तत्कालै पुनर्वहाली नगरिए अझै शसक्त संघर्ष गर्ने चेतावनी दिएका छन् । ७६ वटै जिल्लामा सबै सामाजिक परिचालकलाई स्थानीय तहले नियुक्ति दिएर काममा लगाईसेकेको अवस्थामा कास्कीका स्थानीय तह सरकारकै निर्णय विरुद्ध लागेको उनीहरुको आरोप छ । ‘मन्त्रिस्तरीय निर्णयले सामाजिक परिचालकलाई कार्यालय सहायकको रुपमा नियुक्ती दिन तलव सहितको परिपत्र पठाएको छ । तर कास्कीका स्थानीय तहले त्यसको सुनुवाई गरेनन्, सामाजिक परिचालक कर्मचारी संघ कास्कीकी अध्यक्ष सरिता केसीले भनिन्–नियतबश हामी माथी अन्याय गरिएको छ । तत्कालै नियुक्तिपत्र दिएर काममा लगाईयोस् ।’

सरकारको निर्णय कार्यान्वयन नभए जस्तोसुकै आन्दोलनको कार्यक्रम गर्न पनि पछि नहट्ने उनको चेतावनी छ । दातृ निकायको सहयोगमा सञ्चालित स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसिडिपी) को म्याद सकिएपछि गएको पुस १४ गतेदेखि सामाजिक परिचालकहरुलाई पनि जागिरबाट निकालिएको थियो । ९ बर्षअघि देखि काम गरिरहेको संस्थाले कामको मूल्यांकन नगरी बर्खास्ती गरेको भन्दै देशभरका सामाजिक परिचालक काठमाण्डौंमा भेला भएर आन्दोलन चलाए ।

त्यसपछि सरकारले चैत १६ गते सबै स्थानीय तहमा परिपत्र पठाएर नियुक्ति दिन निर्देशन गरेको थियो । ‘सबै जिल्लामा सामाजिक परिचालकले नियुक्ति लिएर काम गरिरहेका छन् । हामी चाहीँ महानगरको ढोका अगाडी नियुक्तिका लागि चिच्याईरहेका छौं, संस्थाकी सचिव भावना श्रेष्ठ भन्छिन्–सरकारले परिपत्र गरेपछि आँफै नियुक्ति दिनुपर्नेमा हामीले घचघच्याउँदा उल्टै झपारेर पठाईयो । शान्तिपूर्ण आन्दोलनमाथी नजरअन्दाज गरेर आन्दोलन चर्काउनुपर्ने अवस्था सिर्जना नहोस् ।’

कास्कीका सामाजिक परिचालकहरुले बैशाख ९ गतेदेखि महानगरकेन्द्रित आन्दोलन गरिरहेका छन् । मुख्यमन्त्री, मन्त्री, प्रदेश सभामुख, सांसद लगायत सबै सरोकारवालाई ज्ञापनपत्र बुझाएपनि मागप्रति गम्भिर नभएको उनीहरुको गुनासो छ । ‘नियुक्ति दिने बेला महानगरले ईन्टरभ्यु लियो । सामाजिक परिचालकले काम पनि वडामा गर्ने । हाजिरी महानगरमा बुझाउनुपर्ने, उनीहरु भन्छन्–अहिले अप्ठेरो पर्दा हामी कसरी एनजिओको कर्मचारी भयौं ? हामीलाई महिला भनेर हेपियो ।’ तलव भन्दा स्वाभिमानका लागि नियुक्तिपत्र मागेको उनीहरु बताउँछन् । ‘गैर सरकारी संस्थाले २ दिन काममा लाउदा त नियुक्ति पत्र दिनुपर्ने ब्यवस्था छ । हामी त सरकारको अण्डरमा बसेर काम गर्ने हो, अर्की सामाजिक परिचालक कमला खनालले भनिन्–असार मसान्तसम्मको नियुक्ति दिईयोस् । २ दिन भएपनि स्वाभिमानका साथ काम गरेर निस्किन्छौं ।’

नेपाल सामाजिक परिचालक कर्मचारी संघ प्रदेश ४ का अध्यक्ष पिताम्बर नेपालीका अनुसार प्रदेशभित्र कास्की बाहेक सबै जिल्लामा सामाजिक परिचालकले नियुक्तिपत्र लिएर काम गरिरहेका छन् । कास्कीमा ७७ जना सामाजिक परिचालक छन् भने महानगरमा मात्रै ४७ जना छन् । प्रदेशका ११ जिल्लामा ५ सय ८० जना सामाजिक परिचालक कार्यरत रहेको नेपालीले जानकारी दिए । ‘अरु जिल्लामा समस्या छैन । म आँफैपनि कुश्मा नगरपालिकाबाट नियुक्ति लिएर १० नम्बर वडामा काम गरिरहेको छु, नियुक्तिपत्र देखाउदै उनले भने–कास्कीका जनप्रतिनिधीलाई किन गाह्रो भएको म बुझ्दिन । वहाँहरुको नियत नै सामाजिक परिचालकलाई लखेट्ने खालको छ । अव प्रदेशका सबै सामाजिक परिचालक भेला भएर आन्दोलन थाल्छौं ।’

महानगरले राखेपछि मात्रै आँफुहरुले नियुक्ति दिने गाउँपालिकाले बताएपछि जिल्लाका सबै सामाजिक परिचालक महानगरको गेटमा धर्ना कसिरहेका छन् । तर महानगर चाहीँ कुनैपनि हालतमा नियुक्ति नदिने अडानमा छ । मेयर मनबहादुर जिसीले महानगरसँग श्रोत नभएकोले मन्त्रालयले तलव निकासा नदिएसम्म सामाजिक परिचालकलाई काममा लगाउन नसक्ने बताए ।