‘पीपीएल’को उद्घाटनमा पोखरा र काठमाडौं भिड्ने

 

कास्की, मंसिर २८ ।

पोखरामा आइतबारदेखि सुरु हुने दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेल साविक विजेता पोखरा पल्टन र काठमाडौं गोल्डेन्सबीच हुने भएको छ ।

शनिबारदेखि प्रतियोगिता शुभारम्भ गर्ने कार्यक्रम रहे पनि मौसममा आएको खराबीले प्रतियोगिता एक दिनपछि सारिएको छ ।

प्रतियोगिता आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले पिच, अस्थायी पारापिट, प्लेयर बक्स, मिडिया सेन्टरलगायतको आवश्यक सम्पूर्ण तयारी पूरा भएको बताउँदै ६ ओटै टोलीका खेलाडीसमेत पोखरा आइपुगेका जानकारी दिए ।

आगामी पुस १२ गतेसम्म सन्चालन हुने प्रतियोगिताले क्रिकेट खेलप्रतिको आकर्षण बढाउनाका साथै पोखरालाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउनसमेत मद्दत पुग्ने भएकाले पर्यटन प्रवद्र्धनमा सघाउने विश्वास लिइएको छ ।

नेपाली क्रिकेटमा सर्वा्धिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले रु २७ लाख तथा उपविजेताले रु १० लाख पुरस्कार पाउनेछन् ।

‘म्यान अफ दी सिरिज’, ‘उत्कृष्ट ब्याट्सम्यान’ र ‘उत्कृष्ट बलर’ गरी तीन खेलाडीलाई टीभीएस मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ ।

त्यसैगरी, प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई रु एक लाख, ‘इमर्जिङ’ खेलाडीलाई रु ५० हजार तथा प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’लाई रु १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

साविक विजेता पोखरा पल्टन, विराटनगर टाइटन्स, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन्स वारियर्स र एक्सपर्ट धनगढी ब्लुज गरी देशका विभिन्न ६ सहरका ६ टोलीको सहभागिता रहेको छ ।

शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका थिए । (रासस)