पीडा भुलेर परम्परा जोगाउँदै बारपाकी

गोरखा, असोज ८ ।
बिनासकारी भूकम्पको इपिसेन्टर (केन्द्रबिन्दु) हो बारपाक । २८ महिना अघि आएको भूकम्पले १४ भन्दा बढी जिल्ला तहसनहस भयो । बारपाक त झनै थिलथिलो बन्यो । अहिले सम्म सरकारले पुनः निर्माणलाई चुस्त बनाउन सकेको छैन । बारपाकमा ढलेका अधिकांश घरहरु उस्तै छन् । केहीले ऋणधन गरेर उठाए । तर बारपाक भूकम्पक अघिको स्वरुपमा छैन । आफ्नो पूरानो रुप गुमाईसक्यो ।
भूकम्पपछि पीडितले लगातार तीनवटा दशैं मनाए । धेरैले पीडा भुल्नै सकेका छैनन् । तर बारपाकमा यतिबेला दशैंको चटारो छ । इपिसेन्टरका बासिन्दाले भूकम्पमा परेका आफन्त र घर विर्सिन भ्याएका त छैनन् तर अस्थायी टहरामै भएपनि उनीहरुलाई दशैंले तत्कालका लागि सबथोक विर्साएको छ । दुखजेलो गर्न गाउँ छाडेका बारपाकबासी अहिले झोलीझाम्टा बोकेर थातथलोतिर फिरेका छन् ।
दशैं खर्चको जोहो गर्दै नयाँ लुगा र भेडा तयार पारेका छन् उनीहरुले । परम्पराअनुसार गत बिहीबार सबै बारपाकीले मुखियाको घर पुगेर जमरा राखे । मुखियाको घरमा गएर दशैंमा सामूहिक जमरा राख्नु बारपाकको फरक पहिचान हो ।
‘अब फूलपातीका दिन जमरालाई कोटदेवी (अकला मन्दिर)को मौला घरमा लगिन्छ,’ स्थानीय जित घले भन्छन्, ‘टीकाको बिहानसम्म जमरा त्यहीं रहन्छ ।’ टीकाको शुभसाइतमा सबै सोही मन्दिरमा भेला भएपछि मुखियाको हातबाट टीका लगाएर आशिर्वाद लिन्छन् । अनि आ–आफ्ना घर फर्केर टीका, जमरा लगाउँदै खुशी साटासाट गर्छन् ।
अष्टमीको दिन कोटदेवीको मौला घरमा राँगोको बलि चढाइन्छ । स्थानीय बासिन्दाले घर–घरमा भेडा र च्यांग्राको बलि दिन्छन् । बारपाकको दशैंमा टीका, जमरा र मिठा परिकार मात्र हुँदैनन्, नाचगानमा झुमेका बारपाकी देख्दा लाग्छ, दुई वर्षअघि यहाँ कुनै विपत आएकै थिएन ।