पाेखरा महानगरको ताला खुल्यो, वडास्तरीय बजेट हेरफेर गर्ने सहमति

पोखरा, असार १३ ।
विनियोजित बजेट हेरफेर गर्ने सहमति पछि पोखरा महानगरमा काँग्रेसका जनप्रतिनिधिले लगाएको ताला खुलेको छ । बजेट वितरणमा विभेद गरेको आरोप लगाउँदै विहिबार लगाईएको ताला शुक्रबार विहान खोलिएको हो । उनीहरुले बुधबार नै बजेट किताव समेत च्यातिदिएका थिए ।

सेवा प्रवाहलाई प्रभाव पार्ने गरी आन्दोलन गरेपछि महानगरले बार्ताबाट समस्या समाधान गर्ने मध्यमार्गी बाटो अपनाएको हो । शुक्रबार बार्ता भएपछि मेयर मानबहादुर जिसी र काँग्रेसतर्फका सचेतक रामराज लामिछानेले संयुक्त रुपमा ताला खोले ।

बार्तामा मेयर जिसीले वडास्तरीय छुटेका योजना समावेश गर्ने र बजेट हेरफेर गर्ने सहमति जनाएपछि ताला खोलिएको लामिछानेले बताए । दुवै पार्टी (नेकपा र काँग्रेस) का सचेतक बैठक बसेर छुटेका योजनालाई समाबेश गर्ने सहमती भएको अर्का वडाध्यक्ष शंकर बास्तोलाले बताए ।

मेयर मानबहादुर जिसीले चाहीँ आन्दोलनलाई स्वभाविक रुपमा लिएका छन् । ‘आन्दोलन गर्नुपर्ने बिषय नै होईन । मैले त्यही दिन पनि चित्त नबुझेका कुरा लिएर आउनुस्, सम्बोधन हुन्छ भनेकै थिएँ,’ उनले भने, ‘वहाँहरु मान्नुभएन । अहिले बार्तामा पनि छुटेका कुरालाई समेटेर लैजाने सल्लाह भयो । त्यसैमा सबै सहमत हुनुभयो ।’

महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले मंगलबार नगरसभामा ७ अर्ब ५४ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी थिइन् । काँग्रेसको विरोधकै बाबजुत बजेट बहुमतले पारित भएको छ । महानगरले पूर्वाधारलाई केन्द्रीत गरेर बजेट बाँडफाँट गरेको छ ।