पाटन विमानस्थल कालोपत्रे, टर्मिनल नहुदा तत्काल सञ्चालन नहुने

 

बैतडी, फागुन २ ।

बैतडीको पाटन विमानस्थलमा कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ ।

वि.स. २०७५ असारमा सक्ने लक्ष्यसहित कालोपत्रे गर्ने कार्य सुरु भएकोमा झण्डै १८ महिनापछि सम्पन्न भएको हो । माघ दोश्रो हप्ता विमानस्थल कालोपत्रे गर्ने कार्य सम्पन्न भएको र अहिले किनारमा पेन्टिङको काम चलिरहेको निर्माण कम्पनीका इन्जिनियर पुरन रावलले जानकारी दिए ।

पाटन विमानस्थलमा ५९० मिटर लम्बाई र २० मिटर चौडाइको धावन मार्ग कालोपत्रे गरिएको हो भने ७० मिटर लम्बाई र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिएको हो ।

यसका लागि करीब मूल्य अभिवृद्धि कर बाहेक ११ करोड २९ लाखको लागतमा ठेक्का सम्झौता भएको थियो । कालोपत्रे गर्ने कार्य सम्पन्न भएपछि हस्तान्तरणको प्रक्रियामा जाने कम्पनीका इन्जिनियर रावलले बताए ।

वि.स. २०३५ सालदेखि सुरु भएको हवाई सेवा पहाडी जिल्लाहरुमा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै वि.स. २०५२ सालदेखि विमानस्थल बन्द गरिएको थियो ।

वि.स. २०५८ सालमा तत्कालिन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो ।

यसैबीच विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएपनि टर्मिनल भवन निर्माण नभएकाले तत्काल विमानस्थल सञ्चालनमा नआउने बताइएको छ । टर्मिनल भवन निर्माण, पर्खाल र नालीका लागि ठेक्कासमेत भएको छैन् ।
(ईमेजखबरबाट साभार)