‘पाएको राहत पनि सकियो, औषधी कसरी किन्ने ?’

पोखरा, बैशाख २३ ।
कैलालीकी आशिका विक पोखरा १७ छोरेपाटनमा बस्छिन् । दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने उनले ११ दिनअघि छोरो जन्माईन् । एकातिर कोरोनाको कहर, अर्कोतिर सुत्केरी पीडा । आशिका जस्तै ४ जना सुत्केरी त्यही टोलमा छन् ।

४२ बर्षिया भवानी गुरुङ मुटु र मृगौलाको रोगी हुन् । मजदुरी गरेर परिवार पाल्ने उनको औषधीको जोहो पनि त्यही मजदुरीले जुटाउँथ्यो । तर अहिले काम छैैन । काम नभएपछि औषधी किन्ने पैसा पनि छैन । सरकारले राहतमा अलि अलि चामल र दाल दिएपनि औषधी दिएको छैन । ‘सरकारले दिएको राहत पनि सकियो । औषधी सकिएको धेरै दिन भैसक्यो,’ उनले भनिन्, ‘धेरै गाह्रो भैरहेको थियो ।’

८० बर्षिया बिष्णुमाया विकको घरमा पनि पकाउने अन्नको गेडो छैन । छाक टार्न गाह्रो हुन थालेपछि मनकारीसँग माग्दै विहान बेलुकीको जोहो गर्छिन् उनी । २ दिनअघि पोखरा १७ विरौटाकी लक्ष्मी शर्मा भट्टराईले फेसबुकमा एउटा भिडियो पोष्ट गरिन् । सरकारले घोषणा गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर खाने २१ परिवारको समस्या उनले भिडियोमा सुनाएकी थिईन् । कोही मृगौलाका रोगी, कोही सुत्केरी त कोही बृद्धबृद्धा । सबैलाई आ–आफ्नै समस्या थियो ।

त्यही समस्या देखेर केही समाजसेवीहरुको मन पलायो र मंगलबार पीडितहरुको आवश्यक्ता अनुसारका सामान लिएर घरमै पुगे । नेपाली काँग्रेसकी नेतृ सरस्वती गुरुङले संयोजन गरेर ५२ परिवारलाई खाद्यान्न सहित कपडा र औषधी सहयोग गरेका हुन् । उनीहरुसँगै पुगे, मानवअधिकार कर्मी विरेन्द्र केसी पनि ।

‘सबैको अवस्था दयनीय रहेछ,’ उनले भनिन्, ‘सुत्केरीलाई रासन सहित केही कपडा र अण्डा दियौं । अरुलाई रासन वितरण गरेका हौं ।’ सुत्केरीहरुलाई केही थान ओढ्ने ओछ्याउने दिईएको छ भने मुटुरोगीलाई औषधी । सबैलाई चामल, दाल लगायतका खाद्यान्न पनि वितरण गरिएको छ ।

अभियानमा सांसद तथा नेपाली काँग्रेसका नेता सूर्यबहादुर केसीले आर्थिक सहयोग गरेका छन् । आईएफसी फेसन कलेजकी सञ्चालिका सरु गुरुङ, समाजसेवी सुनिता गुरुङ र मञ्जु गुरुङले कपडा सहयोग गरे ।

स्थानीय रुपमा अगुवा टिका कुमारी कार्कीले ब्यवस्थापन मिलाएकी हुन् । समस्यामा परेका परिवारको टिपोट उनैले गरेकी हुन् । राहत वितरणमा काँग्रेस १७ का पुण्डरी बरालले पनि सहजीकरण गरे ।