पाँच बर्षपछि पोखरामा डरलाग्दो पुतली

पोखरा, भदौ २९ ।
पोखरा र आसपासमा यतिबेला सेतो पुतलीको विगविगी छ । दिउँसोभन्दा साँझ र रातीको समयमा सतो पुतली बढी सक्रिय हुन्छन् । पोखराका सडकहरुमा अहिले जताततै सेतो पुतली देखिन्छ । पाँचबर्षअघि यसैगरी सेतो पुतलीको विगविगी थियो । यो पुतलीको विगार खासै नभएपनि झुस भने बिषालु हुने जानकारहरु बताउँछन् ।
सेतो पुतलीले सापु भन्ने रोग फैलाउने गरेको हिमालय आँखा अस्पतालका डा. इन्द्रमान महर्जनले जानकारी दिए । पुतली फैलिएपछि अहिले पोखरामा सापु रोगी पनि बढ्न थालेका छन् । ‘सुरुमा हामीले खासै ख्याल गरेनौं । सामान्य झैं उपचार ग¥यौं, उनले भने–सेतो पुतली पोखराभरी फैलिएछन् । यो डरलाग्दो हुन्छ ।’ पोखरामा ५ वर्षयता सेतो पुतलीको झुसले हुने संक्रमणबाट आँखामा लाग्ने सापु रोग देखिएको थिएन । डा. महर्जनका अनुसार ५ वर्ष पहिले प्रत्येक २ वर्षमा यो समस्या देखिन्थ्यो ।
पोखरा र आसपासमा अहिले सेतो पुतलीको आतंकै छ । यो तापक्रम र केमिकलका कारण सेता पुतलीको वृद्धि हुने असोज पछाडि भने यो पुतली आफैं मर्दै जाने उनले बताए । यही समय धेरै बालबालिकामा यस्तो समस्या हुनसक्ने जोखिम रहेको भन्दै अभिभावक र बालबालिका सचेत हुनुपर्ने महर्जन बताउँछन् ।
यो रोगको संक्रमणका कारण अति छिटो आँखाको ज्योति गुम्नेसक्छ । ‘यो रोग यति जटिल हुन्छ कि २४ घन्टाभित्रै उपचार गरिएन भने आँखाको ज्योतिसमेत गुम्न सक्ने खतरा हुन्छ,’ उनले भने । सेतो पुतलीबाट कसरी बालबालिकामा यो रोग लाग्छ भन्ने अहिलेसम्म पत्ता नलागेको बताउँदै डा. महर्जनले पुतलीको झुस जब आँखामा पर्छ त्यसको रसायनले असर पार्ने बताए ।
डा. महर्जनका अनुसार साना बाबुनानीमा सेता पुतलीबाट जटिल समस्या देखिने गरेको छ । ‘२०(२२ वर्ष पहिलेदेखि हेर्दा अहिलेसम्म पोखरामा ५ वर्ष मुनिका बालबालिकामा मात्रै यो समस्या देखिएको छ,’ उनले भने, ‘पाका व्यक्तिलाई पनि सेतो पुतलीले असर त गर्छ तर यो रोग बालबालिकामा बढी देखिएको छ ।’ पोखरामा ५ वर्षमुनिका बालबालिकामा यो रोग देखिए पनि काठमाडौं लगायतका ठाउँमा भने १० वर्षमुनिका धेरै बालबालिकामा यो रोग भेटिएको थियो ।
महर्जनका अनुसार आँखा अचानक रातो हुनु, उज्यालोमा हेर्न गाह्रो हुनु, आँखाको नानी सेतो देखिनु, अत्यन्तै छोटो समयमा ज्योति ज्यादै कम हुँदै जानु लगायत सापुको मुख्य लक्षण हो । सेता पुतलीबाट बच्नु नै यो रोगको मुख्य उपाय भएको उनी बताउँछन् । ‘सेतो पुतली साँझमा उज्यालो ठाउँमामात्रै आउँछ । यो सेतो बल्ब, सेतो पर्दा, झ्याल लगायतमा बढी झुम्मिन्छन्,’ महर्जनले भने ।
यो रोग नेपालमा पोखराबाटै फैलिएको डाक्टरहरु बताउँछन् । पोखराबाट झन्डै २० वर्ष अगाडि यो रोग फैलिएको थियो । सुरुमा थोरैमा देखिएको यो रोग सन् २००४ सालपछि भने देशका विभिन्न सहरमा फैलिएको थियो । पोखरामै सुरुसुरुमा बर्षेनी २० भन्दा बढीलाई यो रोग देखिएको थियो ।