पहिल्यै घर बनाएका भूकम्पपीडितले एकमुष्ट ३ लाख पाउने

काठमाण्डौं, असार १७ ।
लामो अन्यौलपछि अन्ततः राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफैं घर बनाउने भूकम्पपीडितलाई एकमुष्ट ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ । भूकम्पपीडित लाभग्राही सूचीमा नाम भएका तर पहिले नै घर बनाएका पीडितलाई सरकारले दिने अनुदान दिने कि नदिने भन्ने अन्योलको अन्त्य भएको छ ।

प्राधिकरण कार्यकारी समितिको मंगलबार बसेको बैठकले प्राविधिक खटिनुपूर्व नै बनेका घरलाई निजी आवास पुनर्निर्माण अनुदान रकम उपलब्ध गराउनेसम्बन्धी कार्य्विधि पारित गरेको छ । अब प्राविधिक खटिनुपूर्व नै बनेका निजी आवासलाई तीन लाख रुपैयाँ अनुदान उपलब्ध गराउने बाटो खुलेको हो । समितिको निर्णय अनुसार अब भने द्रूत गतिमा अनुदान वितरण हुने प्राधिकरणले जानकारी दिएको छ ।

अनुदान प्राप्त गर्न प्राधिकरणले प्राविधिक परिचालन गर्नुपूर्व नै उक्त घर पुनर्निर्माण भएको र लाभग्राही बसिरहेको भनी स्थानीय तहबाट प्रमाणित हुनुपर्नेछ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्राविधिक परिचालन गर्नुपूर्व पुनर्निर्माण गरिएका घरका घरधनीलाई एकमुष्ट रकम उपलब्ध गराउने कार्य केही ढिलाइ भएको देखिएकाले उक्त कार्यलाई प्राथमिकताका साथ अघि बढाउन कार्यविधि बनाएको बताए ।