पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्यो

 

काठमाडौं, कार्तिक २ ।

पश्चिमी वायुको प्रभावले देशभर आङ्शिकदेखि सामान्य बदली भई चिसो बढ्दै गएको छ ।

उक्त वायुको प्रभावले आज देशका उच्च पहाडी भू–भागका केही स्थानमा हल्का हिमपात र पहाडी भेगका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन बाहिरिएसँगै निरन्तर न्यूनतम तापक्रम घट्नेक्रम शुरु भएकाले चिसो महसुस भएको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताए ।

राति देशका पूर्वी भू–भागमा आङ्शिकदेखि सामान्य बदली रही मध्य तथा पश्चिमी भू–भागमा आङ्शिक बदली भई मध्यपहाडी भू–भागका एक÷दुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरि आइतबार देशभर आङ्शिकदेखि सामान्य बदली रही देशका पूर्वी र पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

त्यस्तै सोमबार देशका मध्य तथा पूर्वी भू–भागमा आङ्शिकदेखि सामान्य बदली रही पहाडका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज पोखराको न्यूनतम तापक्रम १८.२ र अधिकमत तापक्रम २८.० डिग्री रहेको छ भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५.५ डिग्री र अधिकतम तापक्रम २५.२ डिग्री सेल्सियस रहेको छ ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस छ । (ईमेजखबरबाट साभार)