पशुपतिमा गाँजा किनबेच गर्न नपाईने

काठमाण्डौं, माघ ११ ।
धर्मको नाममा पशुपतिनाथ मन्दिर परिसरभित्र गाँजाको व्यापार बढेपछि पशुपति विकास कोष र प्रहरीले पूर्णरुपमा निषेध सुरु गरेको छ । पशुपतिलाई गाँजा निधेषित क्षेत्र घोषणा गर्न लागिएको छ । केही सातायता प्रहरीले पशुपति क्षेत्रमा विशेष अपरेसन चलाई गाँजा व्यापार गर्ने १ सयभन्दा धेरैलाई पक्राउ गरिसकेको छ । गाँजा बेच्ने जोगीहरुलाई समेत पक्राउ गरी कारबाही गरिएको महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी अनुपम श्रेष्ठले बताए ।
पशुपति क्षेत्र विकास कोष र प्रहरीले संयुक्त रुपमा पशुपति क्षेत्रमा सुधारका लागि मंसिर २० गतेदेखि नै अभियान चलाउँदै आएको छ । पशुपति क्षेत्र गाँजा सेवनकर्ताको अखडा बन्दै गएपछि पवित्र क्षेत्रको छवि सुधारका लागि पनि यो अभियान सुरु गरिएको कोषका एक अधिकारीले बताए । एकातिर पशुपतिमा दैनिक लाखौं रुपैयाँ बराबरको गाँजाको कारोबार हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन् । गाँजाका दुर्व्यसनीहरु समेत पशुपती क्षेत्रमा पुगेर सेवन गर्छन् । बिहीबार एक कार्यक्रम गरी पशुपति क्षेत्र विकास कोष र प्रहरीले पशुपतिलाई गाँजा निषेधित क्षेत्र घोषणा गर्दै छन् ।