पर्सामा प्रहरी कार्यालय आडैमा गोली चल्यो, स्थानीय त्रसित

पर्सा, फागुन १७ ।
पर्साको जिल्ला प्रहरी कार्यालय नजिकै गोली चलेको छ । अज्ञात हतियारधारीले गोली चलाउँदा वीरगन्ज महानगपालिका–१३ रानीघाटका ३२ वर्षीय उमेशप्रसाद चौरसिया गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयभन्दा ५० मिटर पश्चिममा रहेको रातोबंगला अगाडि गएराति साढे ९ बजे गोली प्रहार भएको हो । घाइते चौरसियाको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका लागि भर्ना गराए पनि स्वास्थ्य स्थिति जटिल बनेपछि वीर अस्पताल पठाइएको छ । उनको दाहिने कोखामा गोली लागेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए ।
गोली प्रहारमा संलग्नलाई पक्राउ गर्न वीरगन्जसँग सिमाना जोडिएका क्षेत्रमा चेकजाँचलाई तीव्र पारिनाका साथै नगर क्षेत्रमा भित्रिने र बाहिरिने बाटोमा सेमत चेकजाँच भइरहेको प्रहरी नायब उपरीक्षक लिम्बूले जानकारी दिए । चौरसिया धागो व्यापारी हुन् । जिल्ला प्रहरी कार्यालय नजिकै भएको गोली प्रहार घटनाले स्थानीयवासी त्रसित बनेका छन् ।