पर्यटकीय आर्कषण केन्द्र बन्दै काँहुडाँडा

पोखरा, साउन ३ ।
सूर्योदय हेर्नकै लागि अधिकाशं पर्यटक सराङकोट पुग्ने गर्थे तर सडक साँघुरो र पर्यटकको चाप वढेपछि विकल्पमा पर्यटकले काँहुडाँडा रोज्न थालेका छन् । पछिल्लो समय सूर्योदय हेर्नकै लागि विहान काहुँडाँडामा स्वदेशी तथा विदेशी पर्यटकको भिड लाग्ने गरेको छ । अन्तराष्ट्रिय पर्यटन वर्ष २०१८ विविध कार्यक्रम सहित यहाँका पर्यटन व्यवसायी र स्थानीयले गत असोज महिनामा काहूँडाँडामा पर्यटन बर्ष मनाए ।

त्यसैको स्वरुप काँहूमा सूर्योदय हेर्नकै लागि पर्यटकको चाप वढ्न थाल्यो, यतिवेला दैनिक सयौ पर्यटक विहानी झिसमिसेमा त्यहाँ पुग्ने गर्छन ।विहान मर्निङवाक गर्दै काँहुडाँडा पुग्ने स्थानीयको पनि भिड नै हुने गरेको छ ।

पर्यटकीय गन्तब्यको रुपमा विकशीत हुन थालेको काँहुडाँडामा छिट्टै नेपालकै भगवान गौतम बुद्धको विशाल मूर्ति र यशोधरा पार्क समेत निर्माण हुने भएको छ । मूर्ति स्थापना गर्नकै लागि १६९ रोपनी सामुदायिक वन र स्थानीयहरुको जग्गा धर्मकाया बुद्ध मण्डलाले खरिद समेत गरिसकिएको छ । मूर्ति निर्माण कार्यमा भने केही ढिलाई हुन गएको छ ।

गत मंसिर महिनामा तेस्रो काँहुधरहरा महोत्सव सम्पन्न भएको छ । पर्यटकीय गन्न्तव्य त वन्यो तर यहाँका सुविधा सम्पन्न होटल, रेष्टुरेण्ट नहुँदा पर्यटकको गन्तव्य काँहुडाँडा भएपनि पुनः गन्तव्य परिवर्तन गरी पोखराको लेकसाइड फर्कन बाध्य छन् ।

अत्यन्त क्षणिक समय मात्र त्यहाँ बिताउने गरेका र पर्यटकहरुको चाहाना बमोजिम सुविधा प्रदान गर्न नसकिएको तितो यथार्थ वडा सदस्य मिनबहादुर गुरुङ व्यक्त गरे । पोखराको मुख्य बजार महेन्द्रपुलबाट साढे सात किलो मिटर कालोपत्रे सडक यातायातको सुविधा पर्याप्त भएपनि खान र बस्नको असुविधाका कारण पर्यटकहरुको बसाई लम्याउन नसकिएको पूर्व गाविस अध्यक्ष चित्रप्रसाद लामिछानेले बताए ।

२०५२ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा आफ्नो गाउँ आफै बनाउ भन्ने योजनाबाट सडक निर्माणपछि विभिन्न व्यवसायी तथा व्यक्तिहरु सुविधा सम्पन्न होटलहरुको प्रस्ताव राखि स्थानीय वासीलाई रोजगार र सुविधा दिन्छौं भन्दै सस्तो रकममा जग्गा खरिद गरेतापनि पूर्वाधार नै निर्माण नगरी वर्षौं त्यो जग्गा बढि मुल्यमा विक्री गरियो ।

तत्कालिन समाजिक अभियन्ता स्व.मेजर वीरसिंह गुरुङले अमरसिंह माध्यमिक विद्यालय र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको निर्माणका लागि काहूँमा नै प्रस्ताव गर्दा तत्कालिन स्थानीय केही व्यक्तिहरुको विरोधका कारण त्यस स्थानबाट स्थानान्तरण गरियो । त्यसैगरी लुम्लेको काँडेमा रहेको कृषि अनुसन्धान केन्द्र पनि काहूँमा नै प्रस्ताव गरिएको थियो । वुद् मूर्ति पनि अन्तै सार्ने हुन की भन्ने आशंका अहिले स्थानीयले गरिरहेका छन् ।

पर्यटन प्रवद्र्धन भन्दै स्थानीयहरुलाई सुविधा दिन्छौ भनी जग्गा खरिद गर्ने तर २÷४ वर्ष पछि जग्गा बिक्री गरी कमिशनका लागि मात्रै योजना पेश गर्ने क्रमलाई तुरुन्त बन्द गर्नुपर्ने वडा अध्यक्ष मोहन प्रसाद बास्तोला बताउँछन् ।