परिवार दल सूर्य चिन्हमा चुनाव लड्ने

काठमाण्डौं, असोज २१ ।
नेपाल परिवार दल आसन्न प्रतिनिधिसभा र प्रदेशसभामा एमालेको सुर्य चिन्हमा निर्वाचन लड्ने भएको छ । एमाले अध्यक्ष केपी ओलीनिवास बालकोटमा केहीबेरअघि भएको सहमतिअनुसार परिवार दलले आसन्न निर्वाचनमा सूर्य चिन्ह लिएर निर्वाचन लड्ने भएको हो ।
दुई पार्टीबीच तीनबुँदे सहमति भएको छ । सहमतिपत्रमा एमाले अध्यक्ष ओली र परिवार दलका अध्यक्ष एकनाथ ढकालले हस्ताक्षर गरेका छन् । तर, परिवार दललाई दिइने प्रत्यक्ष र समानुपातिकतर्फको संख्या उल्लेख गरिएको छैन ।
सिट संख्या सहमतिमा टुंगो लगाउने तथा देशभर एमाले उम्मेदवारलाई जिताउन परिवार दल सक्रिय भएर लाग्ने सहमतिमा उल्लेख छ । यस्तै, निर्वाचनपछि बन्ने संसद्मा परिवार दलले एमालेको ह्वीप मान्ने सहमति पनि भएको छ ।