पत्रकार राना मगर सम्मानित

पोखरा २१ मंसिर ।
किरांत सेवा समाज कास्कीले पत्रकार गिता राना मगरलाई सम्मान गरेको छ । विगत एक दशकदेखी पोखरामा रही हाल एविसी टेलिभिजन पोखरा ब्युरोमा कार्यरत पत्रकार राना मगरले आवाज विहीनहरुको अवाजलाई मिडियामार्फत वुलंद गरेको भन्दै किरांत सेवा समाज कास्कीले आफ्नो १९ औ वार्षिक साधारण सभाको अवसर पारी सम्मान गरेको हो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष प्रकाश पौडेल र किरांत सेवा समाज कास्कीका अध्यक्ष लोकेन्द्र चाम्लिङ राइले माला र सम्मान पत्रले सम्मान गरेका थिए । पत्रकार गिता राना संगै किरांत सेवा समाज समाजमा रहेर लामो समय सम्म समाजको हितको लागी काम गरेको भन्दै समाजका निवर्तमान अध्यक्ष गजेन्द्र लिम्बु र समाजको भवन निर्माणमा सहयोग गर्ने गणेश लिम्बुलाई समेत सम्मान गरिएको थियो ।

सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष प्रकाश पौडेलले नेपालको पूर्वी भागमा वसोबास गर्ने किरांत समुदायका मानिसहरु पोखरामा आइ बसोबास गरी आफ्नो मौलिक संस्कृतीको संरक्षण गरिरहेकोमा खुसी ब्यक्त गरे । अध्यक्ष पौडेलले किरांतहरुको सम्मान गर्दै आगामी दिनमा समाजमा आवद्ध महिला दिदिबहिनीहरुलाई लक्षित गरी सीपमुलक र आयमुलक कार्यक्रमहरु सञ्चालन गर्न समाजलाई आग्रह गर्दै त्यस्ता कार्यक्रमहरुमा वडाले सहयोग र सहकार्य गर्ने वताए ।

त्यस्तै गण्डकी प्रदेश संग्रहालय पोखराका प्रमुख करुणा राइले नेपालको पूर्वी भेगबाट विभिन्न कामको सिलसिलामा पोखरा आइ बसोबस गरी आफ्नो काम संगै आफ्नो संस्कृतीको संरक्षणमा लागेकोमा किरात सेवा समाज कास्कीलाई धन्यवाद ब्यक्त गरिन । किरांत सेवा समाज कास्कीका संस्थापक सचिव मनोज कुमार राइले किरांत सेवा समाज २० औ वर्ष सम्म आइपुग्दा विभिन्न बाधा ब्यवधानहरु ब्यहोर्दै यहासम्म आइपुगेको वताउदै समाजमा आवद्ध नभएकाहरुलाई पनि किरात सेवा समाजमा आवद्ध हुन आग्रह गरे ।

आदिवासी जनजाति महासंघ फोनिज गण्डकी प्रदेशका अध्यक्ष एम बि आस्था मगरले किरांत सेवा समाजले २० औ वर्ष आरम्भ गरिरहदा किरांत सेवा समाजको इतिहासका दुखका कालखण्डहरुलाई आफुले नजिकबाट नियालेको र त्यस्ता दुखबाट अगाडि वढेको संस्थाले आगामी दिनमा किरांतहरुलाई मात्र संगोल नगरी दायरा फराकिलो बनाएर अगाडि वढ्न आग्रह गरे ।

किरांत सेवा समाज कास्कीका अध्यक्ष लोकेन्द्र चाम्लिङ राइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष गजेन्द्र सुब्बा, पूर्वाञ्चल सेवा समाजका वरिष्ठ उपाध्यक्ष बाल कुमार लुइटेल लगायतले मन्तब्य राखेका थिएभने कार्यक्रमको सञ्चालन समाजका सचिव नविन राइले गरेका थिए ।