पत्रकार पराजुलीको कथासंग्रह कुमाता पोखरामा

 

पोखरा, फागुन २९ ।

महिलाको यौन मनोविज्ञानमा आधारित पत्रकार वसन्त पराजुलीको कुमाता कथा संग्रह सार्वजनिक गरिएको छ । बिहिवार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर पराजुलीले आफ्नो कथासंग्रह सार्वजनिक गरेका हुन् ।

गत सोमवार चितवनमा गृह विमोचन भएको कुमाता कथासंग्रह पोखराका पाठकहरुका लागि केन्द्रित गर्दै पोखरामा पनि एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।

सामाजिक यथार्थवादी र महिला यौन मनोविज्ञानका विषय वस्तुहरु समेटेर तयार पारिएको पराजुलीको कथासंग्रहलाई भँुडिपुराण प्रकाशन प्रालीले बजारमा ल्याएको हो । ‘कुमाता’मा संग्रहीत दस कथाहरु फरकफरक विषयवस्तुमा केन्द्रित रहेका छन् । कथाहरुले नेपाली समाजलाई जीवन्तरुपमा उतार्ने प्रयास गरेको पत्रकार एवं कथाकार पराजुलीले जानकारी दिए ।

“कथामा समेटिएका विषयवस्तु र पात्रहरु हाम्रै छर छिमेक र समाजमा घटेका घटना जस्ता लाग्छन् त्यसैले कुमाता कथासंग्रह भित्रको कथाहरु हरेक ब्यक्तिले आफ्नै समस्या हो कि भन्ने महशुष गर्छन्”, पराजुलीले भने ।

गरिबी, बैदेशिक रोजगारी, प्रेम, विश्वास, यौन, धोका, जेल जस्ता सन्दर्भहरु कथाका वरिपरि रहेका छन् । यी कथाहरुले कतिपय समाजमा देखिएका र कतिपय नदेखिएका सत्यलाई पनि उजागर गरेका छन् ।

कुमाता कथासंग्रह पोखराको गैरपाटन स्थित बुक स्मार्टले विक्रि वितरणको आधिकारीक जिम्मा लिएको छ ।

कार्यक्रमा नेपाल प्रेस युनियनक केन्द्रिय उपाध्यक्ष रमेश पौडेलले पत्रकारिता हतारको साहित्य भनिए पनि पछिल्लो समय पत्रकारहरुले प्रकाशनमा ल्याएका कृतिहरुले नेपाली साहित्यमा नयाँ आयम थपेको बताए ।

यस्तै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा प्रशिक्षण विभाग प्रमुख कृष्ण गिरीले पत्रकारहरु समाचार लेख्ने मात्रै नभई समाजमा देखिएका विषय वस्तुलाई वस्तुपरक ढङ्गबाट साहित्यमा रुपान्तरण गर्नुपनि पत्रकारिताकै अर्को रुप भएको बताए ।

नेपाली लेखक संघ कास्कीकी उपाध्यक्ष रितादेवी कडेंलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विभिन्न पत्रकार तथा साहित्यकर्मीहरुले पत्रकारिता, साहित्य र समाजका वारेमा चर्चा गरेका थिए ।