पत्रकार गिरीले गरे मजदुरलाई सहयोग

पोखरा, बैशाख ४ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने परिवारलाई पत्रकार अर्जुन गिरीले राहत सामग्री वितरण गरेका छन् । पोखरा महानगरपालिकाको १७ र २१ जोड्ने फुस्रेखोला माथिको निर्माणाधीन पक्की पुलमा काम गर्ने १३ भारतीय मजदुरलाई आवश्यक खाद्यान्न सहयोग गरेका हुन् । गिरीले अप्ठ्यारोमा परेका मजदुरलाई एक हप्ता पुग्ने चामल, दाल, नुन, तेल, आलु, सोयाविन लगायतका सामग्री वितरण गरेका हुन् ।

“भारतीय मजदुरले हाम्रै लागि काम गरिरहेका छन्, भूगोलभन्दा पनि मानवीयताको नाताले उनीहरूको चिसिन थालेको चुलो तताउन सहयोग गरेको हुँ”, उनले भने, “ठेकेदारले गरेको सहयोग उनीहरुका लागि पर्याप्त नभएको सूचना पाएसँगै उनीहरूलाई भेटेर सहयोग गरेका हौँ ।” सम्पादक गिरीसहित पोखरा महानगरपालिका–४ का सञ्जय श्रेष्ठ र कैलाश गुरुङसहित तीन जनाको व्यक्तिगत खर्चबाट खाद्यान्न सामग्री खरिद गरी विपन्न परिवारलाई वितरण गरेका हुन् ।

लकडाउनका कारण भोकाएका पेटलाई केही हदसम्म भए पनि भर्ने प्रयास गर्दै आएको बताउँदै पत्रकार गिरीले भने, “३३ परिवार र १३ मजदुरलाई राहत वितरण गर्दा तीन भाइको ४० हजार खर्च भएको छ ।” उनका अनुसार पोखरा महानगरपालिका–२१ स्थित कृष्तिको सिमलचौर, ठूलोचौर, धुवारकोट, मट्टीखान, मुलबारी र अगेरपानीका ३१ परिवार र पोखरा ११ रानीपौवाका दुई परिवारलाई राहतअन्तर्गत खाद्यान्न सामग्री वितरण गरिसकिएको छ । ती स्थानमा वडा नम्बर २१ वडाध्यक्ष खगराज आचार्य र नेपाल कम्युनिष्ट पार्टीका युवानेता झपट रानाभाटको उपस्थितिमा राहत वितरण गरेको उनले बताए ।