पञ्चासेमा नयाँ केवुलकार बन्दै, १० अर्व लगानी हुने (पढ्नुस् पूरै)

पोखरा, मंसिर ३ ।
कास्की, पर्वत र स्याङ्जाको सिमानामा पर्ने पर्यटकीय एवम् धार्मिक तीर्थ स्थल पञ्चासेमा केबलकार निर्माण हुने भएको छ । पर्यटकको बसाई लम्ब्याउने उद्धेश्यले पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडले १० अर्बको लागतमा केबलकार सहितको बृहत योजना निर्माण गर्ने भएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

पोखरा सहितको समग्र पर्यटन प्रवर्धन गर्ने उद्धेश्यले धार्मिक एवम् पर्यटकीय क्षेत्र पञ्चासेमा साढे ८ किलोमिटर दुरीकोे केबलकार निर्माण हुने भएको परियोजनाका अध्यक्ष रामचन्द्र शर्माले बताए । उक्त योजना सफल पार्न स्थानिय तहमा भएको एक चरणको छलफल सकारात्मक भएकाले अब प्रदेश र संघिय सरकारबाट तथा विभिन्न शेयर सदस्यहरुबाट करिब ६ बर्ष भित्र सकिने गरी २०७६ माघमा शिलान्यासको तयारी भएको उनले जनाए ।

घाँटीछिना देखि ठुलाखेत, भन्ज्याङ हुंँदै पन्चासे तालसम्मको क्षेत्रमा स्टेशन राख्नको लागि अध्ययन भईरहेको र उक्त केबलकारमा दैनिक १० हजार जनासम्म आवातजावात गर्न सकिने अत्याधुनिक केबलकार निर्माण हुने भएको शर्माले जनाए । कम्पनीको महत्वाकांक्षी योजनामा संचारकर्मी देखि कर्पोरेट हाउसको लगानी र वैदेशिक ऋणसमेत प्रयोग हुने उनले बताए । उक्त कम्पनीको केबलकार सहित होटल, रिसोर्ट, मदिराजोन, फन पार्क, शहिद पार्क, ट्रेकिङ रुट, साईक्लीङ लगायतका योजनामा समाजलाई हरेक हिसावले समेट्न न्यूनतम एक लाख देखि २५ लाखसम्म लगानी गर्न सकिने अध्यक्ष शर्माको दाबी छ ।

३ अर्बको लागतमा केबलकार निर्माण हुने भएको छ भने अरु ७ अर्बको लागतमा बाँकी संरचना निर्माण गर्ने अभियानमा उक्त परियोजना रहेको पनि अध्यक्ष शर्माले बताए । उनले निर्माण हुने उक्त केबलकार एसियामै लामो केबलकार हुने पनि दाबी गरे । केबलकारमा ८० वटा टावर रहने परियोजनाका अध्यक्ष शर्माले जानकारी दिए ।

उक्त योजना सफल भई संचालनको साढे ६ बर्षमै लगानी उठाउने गरी आफुहरुले बृहत योजना बनाएको शर्माले जनाए । कास्की, पर्वत र स्याङ्जाका धेरै भन्दा धेरै व्यत्तिहरुको सहभागिताको लागि आफुहरुले शेयर सदस्यता खुलाएको पनि उनले जानकारी दिए । २०७६ साल माघ महिनामा शिलान्यास गरेर २०८२ सम्ममा निर्माण सम्पन्न गरी योजना सञ्चालनमा ल्याईसक्ने शर्माको दाबी छ ।

नेपालकै ऐतिहासिक क्षेत्र पञ्चासेमा हाल कास्कीको भदौरेसम्म सवारी साधन र त्यहाँबाट पैदल हिंडेर तथा पर्वततर्फबाट चित्रे वा आर्थर डाँडाखर्कसम्म सवारी साधन र त्यहाँबाट ४÷५ घण्टाको पैदल यात्रा मार्फत पुग्न सकिन्छ । पञ्चासे २ हजार ५ सय १७ मिटरको उचाईमा छ ।

दैनिक दश हजार जनालाई यात्रा गराउने क्षमता भएको पनि उक्त केबलकारबाट पहिलो चरणमा भने पाँच हजार यात्रुलाई मात्र सेवा दिने उद्देश्य रहेको उनले जनाए । केबलकार निर्माण हुने स्थलमा खासै जोखिम नरहेको पनि परियोजनाका अध्यक्ष शर्माले उल्लेख गरे । पूर्वाधार निर्माण पर्वत तर्फ केन्द्रित हुने भएकाले भुगोलको दृष्टिले खासै जोखिम नहुने उनको भनाइ छ।

समुदायमा आधारित जनजनको सहयोगबाट बन्ने उक्त परियोजना नेपालमै नौलो ढंगले अघि बढाउन खोजिएको परियोजनाका प्रमुख प्रशासकिय अधिकृत चिन्तामणि शर्माले बताए । आर.केडी. रियल स्टेट एण्ड कन्स्ट्रक्सन लि. र बन्दीपुर केबलकार प्रा.लि. उक्त परियोजनाका प्रर्बद्धकमा रहेका छन् ।

बन्दिरपुरको ७० करोडको केबलकारको योजनामा पनि उक्त परियोजनाले २५ प्रतिशत लगानी गर्ने र उक्त केबलकार संचालन आएसंँगै पुनः परियोजनामा लगानी गर्ने भएको छ । उक्त परियोजनाको लागि करिब ३ हजार रोपनी जग्गा ५० बर्षको लागि भाडामा लिने तयारी भएको बताइन्छ । प्रोजेक्टमा ४२ प्रतिशत शेयर र ५८ प्रतिशत ऋण लगानी हुने भएको छ ।

दश अर्बको लागतमा निर्माण गर्न लागिएको सो परियोजनाबाट प्रभावित क्षेत्र कास्की, पर्वत र स्याङ्जाका स्थानियलाई ३ अर्ब बराबरको शेयर दिइने भएको छ । उक्त शेयर पर्वतको मोदी गाउँपालिका, कास्कीको पोखरा महानगरपालिका तथा स्याङ्जाको आँधीखोला गाउँपालिकाका बासिन्दाले प्राप्त गर्ने परियोजनाले जनाएको छ । त्यसका अलावा कर्पोरेट, पत्रकार, सर्वसाधारण सबैलाई छुट्टाछुट्टै शेयर दिइने तयारी भएको छ ।

परियोजनाका अध्यक्ष शर्माका अनुसार परियोजनाका लागि आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया अघि बढेको छ । त्यहाँ प्रायः सामुदायिक वन, सरकारी वन र केहि नीजि जग्गाहरु रहेका छन् । नीजि जग्गा घाँटी छिनामा भएकाले स्थानिबासीसँगको छलफलमा उनीहरुले विकास लिएर आउन लागेको केबलकार निर्माणलाई सघाउने प्रतिबद्धता जनाउँदै सहमति दिएको उनले दाबी गरे । त्यस्तै सामुदायिक वन र सरकारी वन दुबैले सहमति दिइसकेको उनको भनाई छ ।

पर्यटक तान्ने उद्धेश्यले निर्माण गर्न लागेको परियोजनाले केबलकार निर्माणबाहेक विभिन्न क्षेत्रमा पनि हात हाल्ने भएको छ । परियोजनाले हेरिटेज प्लाजा बनाउने भएको छ । ३ हजार रोपनीमा घाँटीछिनामा बनाइने यस हेरिटेज प्लाजामा स्थानियले उत्पादन गरेका टिपिकल ह्याण्डि क्राफ्टलगायतका सामानहरुको बिक्रि केन्द्र बनाईने भएको उनले जनाए ।

परियोजना अन्तर्गत वाटर सोज (फाउन्टेन म्यूजिकल) , प्रेम पार्क, आधुनिक फनपार्क एग्रिकल्चर फार्म बनाइने भएको छ । श्रवणकुमारको सम्झाना स्वरुप त्यहाँ आश्रम बनाइने भएको छ जहाँ असहायः बृद्धबृद्धाहरु राखिने छ । पर्यटकको बसाई लम्ब्याउँदै उनीहरुलाई खर्च लगाउने उद्धेश्यले जीप फ्लायर पनि सञ्चालन गरिनेछ । पञ्चासेदेखी टिपिकल गुरुङ गाउँको रुपमा स्थापित चित्रेसम्म जीप फ्लायर निर्माण गरिने परियोजनाका अध्यक्ष शर्माले बताए ।

त्यस्तै मदिरा सेवन गर्न चाहनेलाई धार्मिक क्षेत्र भएकाले छुट्टै अल्कोहल जोन बनाइने भएको छ । सरकारले निश्चित क्षेत्रमा मात्रै मदिरा बेच्न पाइने कानून निर्माण गरिरहेकाले त्यसलाई सघाउन र धार्मिक क्षेत्रमा कुनै असर नगरोस् भन्ने उद्धेश्यले छुट्टै अल्कोहल जोन बनाउन लागिएको शर्माले बताए । उनका अनुसार अल्कोहल जोनमा एकै पटक दुई हजार जनाले बसेर मदिरा सेवन गर्न सक्ने छन् ।