न हात–न श्रीमानको साथ, काँग्रेस नेता शर्माले किनिदिए घर बनाउने जग्गा

झापा, मंसिर १५ ।
एउटा हात र श्रीमानको साथ गुमाएकी सुत्केरीलाई घर बनाउन नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जग्गा किनिदिएका छन् । ‘चौबिस दिनकी सुत्केरीको बिचल्ली’ भएको समाचार पढेपछि शर्माले आफ्ना छोरा शीर्षकको जन्मदिनमा देवी मेचेलाई घर बनाउन मेचीनगर ९ मा ७ धुर जग्गा किनिदिएका हुन् ।

दोस्रो पटक सुत्केरी भएको सात दिनमा उनका श्रीमानको मृत्यु भएको थियो । दस वर्षअघि करेन्टले उनले दाहिने हात गुमाएकी थिइन् । देवी मेचे अभियान समिति मेचीनगर झापाले शुक्रबार धुलाबारीमा गरेको पत्रकार सम्मेलनमा सहभागी शर्माले सुत्केरी मेचेलाई घर बनाउन जग्गा किन्ने बताएका थिए ।

‘एक लाख रुपैयाँमा जग्गा किनिदिएका हौं,’ शर्माले भने, ‘श्रीमानको निधन भएकोले उनी कोरामा छिन् । मालपोत गएपछि उनको नाममा जग्गा सर्छ ।’ शर्माका अनुसार जग्गामा घर, आवश्यक फर्निचर, वार्षिक खर्च, देवीका छोरीहरुको शिक्षा र स्वास्थ्यका लागि सहयोग गरिन्छ ।

पाँच लाख रुपैयाँको कोष खडा गरेर त्यसबाट आउने ब्याजले मेचे परिवारको वार्षिक खर्च धानिदिने योजना छ । मेचेकी अढाइ वर्षकी ठूली छोरी टुकुटुकु हिँड्न सक्ने भएकी छन् । उनकी सासु वृद्ध भइसकिन्, राम्रोसँग आँखा देख्दिनन् । मेचे परिवार कोठा भाडामा लिएर बसेका छन् । तर भाडा तिर्न नसकेको महिनौं भइसकेको छ ।

मेचे परिवारलाई सहयोग गर्ने अभियानमा स्थानीय पत्रकार मुक्ति पौडेल, व्यवसायी विजय डालमिया, मेचीनगरका जनप्रतिनिधि टिकाराम मग्राती, संगीता थापा र प्रवक्ता शर्माकी श्रीमती कविता पनि जुटेका छन् । भिन्न राजनीतिक आस्था र पेशामा आवद्धहरू मेचे परिवारलाई सहयोग गर्ने अभियानमा छन् ।

वि.सं.२०४२ सालमा धुलाबारी माविका पढेका विद्यार्थीहरूको समूहबाट पनि एक लाख रुपैयाँ सहयोग गर्ने शर्माले पत्रकार सम्मेलनमा बताएका थिए । ‘घर बनाउन एक लाख रुपैयाँ सहयोग गर्छौ,’ उनले भने ।

अभियानलाई काठमाडौंमा शंकरदेव क्याम्पसका उपप्राध्यापक डिल्ली भण्डारी र झापाका समाजसेवी पुनित वंशलले अगुवाई गर्दैछन् । चौबिस दिनकी सुत्केरीलाई पोषिलो खाना र न्यानो कपडाको जोहो गर्न नसक्दा स्तनपानमा समेत समस्या भएको उनले यसअघि सेतोपाटीसँग बताएकी थिइन् ।

सुत्केरी मेचेलाई न्यानो कपडाको पनि अभाव छ । धुलाबारीको एक घरमा घरेलु कामदारका रूपमा काम गर्ने क्रममा लुगा धोएर छतको तारमा कपडा सुकाउँदा करेन्ट लाग्दा उनले दाहिने हात गुमाएकी थिइन् ।

आफ्नो लागि जग्गा र घर निर्माण हुने भएपछि उनी दंग छिन् । ‘मलाई योभन्दा खुसीको खबर अरु के नै हुन्छ र,’ उनले भनिन्, ‘कोही नहुनेको पनि सहारा हुँदो रहेछ ।’ एक हातले जेनतेन काम गर्दै आएकी मेचे सुत्केरी भएपछि परिवार झन् समस्यामा छ ।–सेतोपाटी