नेविसंघ नेतृ पौडेलको मृत्यु–सहमतिपछि विहिबार अन्त्यष्टी गरिने

पोखरा, फागुन ९ ।
नेविसंघ जनप्रिय माविकी सदस्य बन्दना पौडेलको मृत्युपछि आन्दोलनरत पक्ष र ब्यवसायी सहित प्रहरी प्रशासन बीच सहमति भएको छ । बुधबार साँझ भएको सहमतिपछि आन्दोलनका सबै कार्यक्रम सकिएको विद्यार्थी नेता भानु ढकालले जानकारी दिए । उनका अनुसार चालकलाई कडा कारबाही गर्ने, पीडित पक्षलाई उचित राहात उपलब्ध गराउने र आगामी दिनमा घटना दोहोरिन नदिन अभियानमुखी अभिमुखिकरण कार्यक्रम गेर्न सहमति भएको छ ।
सहमति जुटेपछि विहिबार विहान पौडेलको अन्त्यष्टी गरिने नेविसंघले जनाएको छ । गण्डकी हस्पिटलबाट विहान १० बजे शवयात्रा गर्ने र रामघाटमा लगेर उच्च सम्मानका साथ अन्त्यष्टी गरिने ढकालले जानकारी दिए । उनले सबैलाई शवयात्रामा सहभागी हुन आग्रह समेत गरेका छन् । स्याङजा आँधिखोला गाउँपालिका ५ जुग्लेकी पौडेलको सोमबार साँझ पोखराको चाउथेमा टिप्परको ठक्करबाट ज्यान गएको थियो । उनी गण्डकी मेडिकल कलेज पोखराकी कर्मचारी समेत हुन् । उनको मृत्युको विरोधमा विद्यार्थीहरुले बुधबार विभिन्न ठाउँमा नाराबाजी सहित प्रदर्शन गरेका थिए ।