नेपाल मलेसियासित २२ रनले पराजित

 

काठमाडौं, फागुन १७ ।

एसीसी इस्टर्न रिजन पुरुष ट्वेन्टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमै पराजित भएको छ ।

थाइल्यान्डको बैंककमा शनिबार भएको खेलमा नेपाल मलेसियासँग २२ रनले पराजित भएको हो ।

मलेसियाले दिएको १५५ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभर ४ बलमा ‘अलआउट’ हुँदै १३२ रनमा समेटियो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले समान ३८र३८ रन बनाए । पवन सर्राफले १९ जोड्दा पारस खड्का ९ रन बनाएर पेभेलियन फर्किए ।

विनोद भण्डारीले ७ रन जोड्दा आरिफ शेख पनि ५ रनमा आउट भए । करण केसी २, सन्दीप लामिछाने १ रनमा आउट भए ।

मलेसियाका शार्भिन मुनिन्डेले ४ विकेट लिए । खिजार हायत, पवनदिप जगजित सिंह र इजाद इद्रुसले २र२ विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो ।

मलेसियाका लागि सयद अजिज सयद मुबारकले अविजित रहँदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै, अनवर अरुदीनले ३१ तथा मोहमद नुरले ३० रन बनाए । अमिनुदुन राम्लेले २९ रन जोडे ।

नेपालका सन्दीप लामिछानेले ३ विकेट लिएका थिए । यस्तै, अविनाश बोहराले २ विकेट लिए । करण केसीको नाममा १ विकेट रह्यो ।

अब नेपालले भोलि हङकङसँग खेल्नेछ ।

प्रतियोगिताअन्तर्गत् शनिबारै भएको अर्को खेलमा सिंगापुरले थाइल्यान्डलाई हराएर विजयी सुरुआत गरेको छ ।

प्रतियोगितामा नेपाल र मलेसियासहित थाइल्यान्ड, सिंगापुर र हङकङ रहेका छन् ।

‘राउन्ड रोबिन’ आधारमा चल्ने प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोटमा स्थान बनाउने छन् ।
(ईमेजखबरबाट साभार)