नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकीको साधारणसभा

 

पोखरा, पुस २८ ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, गण्डकी प्रदेशको बार्षिक साधारणसभा सम्पन्न भएको छ । महासंघको दोस्रो बार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको हो ।

साधारणसभाको गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री नरदेबी पुनले उद्घाटन गरेकी थिईन् । मन्त्री पुनले व्यवसायीले आफ्ना हितका मात्रै कुरा नगरी सामजिक सेवाका क्षेत्रमा पनि अग्रसर हुनुपर्ने भन्दै व्यवसायीका सकरात्मक मागमा सरकारले सहयोग गर्ने बताईन् । पुस्तक पढ्ने संस्कार बिस्तारै हराउँदै गएको भन्दै उनले पुस्तक पढ्ने बानीको बिकास गर्न पनि महासंघले भुमिका खेल्न जरुरी रहेको बताईन् ।

कार्यक्रममा बोल्दै नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष मनहरी बस्यालले जनक शिक्षा सामाग्री केन्द्रले व्यवसायीलाई राम्रो ब्यवाहार नगर्ने गरेको गुनासो गरे । उनले अहिले स्कुलको कक्षा ८ सम्मका पुस्तकहरु रङ्गिन आईसकेकाले पुराना स्यामस्वयत पुस्तकलाई फिर्ता गराएर सोही बिलमा मिलान गराउन जनक शिक्षा सामाग्री केन्द्रले सहयोग गर्नुपर्ने जिकिर गरे ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष दुर्गा कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभामा महासंघका पुर्व केन्द्रिय अध्यक्ष धनराज आचार्य, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष रिषीराम भण्डारी, जनक शिक्षा सामाग्री केन्द्र गण्डकी प्रदेश प्रमुख जयराम अर्याल,प्याप्सन गण्डकी प्रदेशका अध्यक्ष प्रा डा चन्द्र बहादुर थापा, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ प्रदेश ३ का अध्यक्ष किरण कुमार खनाल, लिलाराम गौतम, मोहन प्रसाद सापकोटा लगायतले बोलेका थिए ।

कार्यक्रमको संचालन नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशका सचिब धुर्व प्रसाद शर्माले गरेका थिए । साधारणसभाको अबसरमा उत्कृष्ट जिल्ला शाखाको रुपमा जिल्ला शाखा स्याङ्जालाई सम्मान गरिएको थियो भने उत्कृष्ट गण्डकी प्रदेश सदस्यका रुपमा सुरेन्द्र बास्तोला र कृष्ण प्रसाद पोखरेललाई सम्मान गरिएको थियो ।