नेपाल जोर्डनसँग पराजीत

पोखरा, जेठ २५ ।
फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेत सिटीमा गएराती भएको खेलमा नेपाल ३–० गोल अन्तरले पराजित भएको हो ।

जोर्डनको जितमा फैसनले दुई गोल गरे भने एक गोल अबोउ अल अरबले थपे । खेलको अन्त्यतिर नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । समूह ‘बी’ मा रहेको नेपालले ६ अंक जोडेर चौथो स्थानमा छ । जोर्डन १३ अंक जोडेर अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको अस्ट्रेलियाको १५ अंक छ ।

अब नेपालले अन्तिम खेल खेल्न बाँकी छ । नेपालले समूहको आफ्नो अन्तिम खेल जेठ २८ गते अस्ट्रेलियासँग खेल्नेछ । सोमबार जोर्डनसँगै पराजित भएसँगै नेपाल एसियन कपको तेस्रो चरणमा सिधैं पुग्ने सम्भावना लगभग सकिएको छ । यद्यपी नेपाललाई प्लेअफबाट तेस्रो चरणमा पुग्ने अवसर भने बाँकी छ ।