नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित

 

काठमाडौं, असोज ११ ।

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गठन गरेको स्वतन्त्र कमिटिको समन्वयमा शनिबार काठमाडौंमा सम्पन्न विशेष साधारण सभाबाट चन्द अध्यक्षमा निर्वाचित भएका हुन् ।

५९ जना प्रतिनिधि रहेको निर्वाचनमा चन्दले ४४ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी विनयराज पाण्डेले १५ मत मात्र प्राप्त गरे ।

अन्य पदाधिकारीमा समेत चन्द प्यानलले बहुमत प्राप्त गरेको छ । संघको उपाध्यक्षमा चन्द प्यानलका राजुबाबु श्रेष्ठले ४१ मत पाएर निर्वाचित भए भने सचिवमा पनि चन्द प्यानलकै अशोकनाथ प्याकुरेल ४३ मत पाउँदै विजयी भए । कोषाध्यक्षमा चन्द प्यानलका रोशन कुमार सिंह ४५ मत पाएर निर्वाचित भए ।

प्रदेश सदस्यतर्फ प्रदेश १ बाट कैलाश विष्ट, प्रदेश २ बाट दाउद अन्सारी,प्रदेश ३ बाट अमित विर पाण्डे,प्रदेश ४ बाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रशान्त विक्रम मल्ल, प्रदेश ६ बाट पदम बहादुर खड्का र प्रदेश ७ बाट विक्रम विष्ट भने निर्विरोध निर्वाचित भए ।

यस्तै महिला सदस्यमा जयन्ती भट्ट पनि निर्विरोध चुनिए । निर्वाचनमा जिल्ला र प्रदेशबाट आएको ५९ प्रतिनिधिले मतदान गरेका थिए ।

आईसीसीले निलम्बन गरेको झण्डै साढे ३ वर्षपछि क्यानको नयाँ नेतृत्वका लागि निर्वाचन भएको हो । सरकारी हस्तक्षेप र अवैधानिक चुनावको कारण देखाउँदै आईसीसीले क्यानलाई निलम्बन गरेको थियो ।

नेपाली क्रिकेट विवाद समाधानका लागि आईसीसीले बनाएको सल्लाहकार समितिले क्यानको विधान तयार गरेको थियो ।

सोही विधान टेकेर आईसीसीको स्वतन्त्र कमिटिले क्यानको नयाँ नेतृत्वका लागि निर्वाचन गरेको हो । नयाँ नेतृत्व आएसँगै क्यान निलम्बनको ढोका खुलेको छ ।
(ईमेजखबरबाट साभार)