नेपाल ओलम्पिक कमिटीको नेतृत्वका लागि उम्मेदवारी दर्ता, जीवनराम र उमेशलालबीच प्रतिश्पर्धा हुने

 

काठमाडौं, भदौ १० ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)को नयाँ नेतृत्वका लागि यही भदौ २० गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता भएको छ ।

नेतृत्वका लागि फेरि एकपटक वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठबीच नै प्रतिस्पर्धा हुने भएको छ ।

मंगलबार उम्मेदवारी दर्तापछि दुवै उम्मेदवारले नेपाली खेलकुदलाई माथि उकास्नका लागि उम्मेदवारी दिएको दाबी गरेका छन् ।

वर्तमान अध्यक्ष श्रेष्ठले खेललाई एकताबद्ध बनाएर ओलम्पिकलाई नयाँ उचाइमा लैजानका लागि आफूले निरन्तरताका लागि उम्मेदवारी दिएको बताए ।

त्यसैगरी, उमेशलाल श्रेष्ठले खेलकुदलाई पारदर्शी बनाइ लगानी बढाएर खेलाडीहरुलाई प्रोत्साहन दिन नेतृत्वका लागि उम्मेदवारी दिएको बताए ।

१९ सदस्यीय कार्यसमितिका लागि २७ सदस्यीय मताधिकार सदस्यमध्ये ओलम्पिक कमिटीका पूर्वअध्यक्ष एवं नेपाल जिम्नास्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधानबाहेक सबैले उम्मेदवारी दिएका छन् ।

पाँच उपाध्यक्षका लागि ज्योति राणा, तेजबहादुर गुरुङ, पुष्पदास श्रेष्ठ, अशोकरत्न बज्राचार्य, सुनीलकुमार श्रेष्ठ, चतुरानन्द वैद्य, राजीव श्रेष्ठ र समीममियाँ अन्सारी गरी ८ जनाको उम्मेदवारी परेको छ ।

महासचिवमा पुरेन्द्रविक्रम लाखे र निलेन्द्रराज श्रेष्ठको उम्मेदवारी पर्दा उपमहासचिवमा पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतनकुमार टन्डनको एकल उम्मेदवारी परेको छ ।

तीन सचिवका लागि केशवकुमार विष्ट, रामजीबहादुर श्रेष्ठ, दीपकहर्ष बज्राचार्य र तुलसी थापा गरी चारजनाको उम्मेदवारी परेको छ ।

त्यस्तै, सात सदस्यका लागि रमेशप्रसाद शिवाकोटी, राम अवाले, प्रकाशशमशेर थापा, गोपालसुन्दर लाल कक्षपति, टासी घले, होमबहादुर दोङ, दीपबहादुर केसी र मनोरन्जन रमण शर्मा गरी ८ जनाको उम्मेदवारी परेको छ ।

लोकभक्त राणा संयोजकत्वको निर्वाचन समितिले उम्मेदवारीउपर दाबी–विरोध गर्न बुधबार बिहान १० देखि दिउँसो २ बजेसम्मको समयसीमा निर्धारण गरिएको छ । सोही दिन अपराह्न ४ बजे दाबी–विरोधउपर निर्णय हुनेछ ।

भदौ १२ गते उम्मेदवारी फिर्ताको समय राखिएको छ । बिहान १० देखि दिउँसो २ बजेसम्म उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

निर्वाचन समितिले भदौ २० गते बिहान ९ देखि दिउँसो २ बजेसम्म मतदानको समय तोकेको छ । (ईमेजखबरबाट साभार)