नेपाल एयरलाइन्सको अधिकांश अन्तरराष्ट्रिय उडान स्थगित

 

काठमाडौं, चैत ७ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को अधिकांश अन्तरराष्ट्रिय गन्तव्यको उडान स्थगन भएको छ ।

कोभिड–१९ विश्वव्यापी सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै निगमले क्रमशः नियमित गन्तव्यका उडान स्थगन गरेको हो ।

निगमले छिमेकी मुलुक भारतका तीनसहित छ देशका नौ गन्तव्यमा नियमित उडान भर्दै आएको छ । भारतको नयाँदिल्ली, मुम्बई र बैंलोर तथा मलेसियाको क्वालालम्पुर, थाइल्याण्डको बैंकक, हङ्कङ, जापानको नारिता, युएईको दुबई र कतारको दोहा गन्तव्यमा निगमले नियमित उडान भर्दै आएको छ ।

कोभिडको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित देशले अन्य मुलुकका नागरिकलाई आफ्नो मुलुक प्रवेशमा केही समयका लागि रोक लगाएकाले निगमले ती देशका गन्तव्यको उडान धमाधम स्थगन गर्न लागेको हो ।

निगमले आगामी आइतबारदेखि भारतका सबै तीन गन्तव्यको उडान स्थगन गर्ने तयारी गरेको छ । भारतले ट्राभल एड्भाइजरी जारी गरिसकेकाले २२ मार्च २०२० देखि भारतका गन्तब्यको उडान स्थगन गरिने निगमले जनाएको छ ।

निगमले यसअघि बिहीबार जापानको नारिता र युएईको दुबई गन्तव्यको उडान स्थगन गरेको थियो । शुक्रबार रातिदेखि लागू हुनेगरी निगमले दुवै गन्तव्यको उडान स्थगन गर्ने निर्णय गरेको हो ।

त्यस्तै निगमले गत चैत ४ गते क्वालालम्पुरको उडान स्थगन गरेको थियो । बैंकक र हङ्कङ गन्तव्यको उडान भने अहिले स्थगन गर्ने योजना नरहेको निगमले उल्लेख गरेको छ ।

यसका अतिरिक्त नियमित उडान चालू रहेका गन्तव्यका लागि टिकट लिएका यात्रुले उडानको एक दिनअघि उडान रद्द गर्न चाहेमा पनि भुक्तानी गरेको पूरै रकम उपलब्ध गराइनेछ ।

निगमले यात्रुको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको जनाएको छ । नेपालबाट तीन नेपालीसहित ३० वटा वायु सेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् । (रासस)