नेपाल आइडलको अडिसन मंगलबार पोखरामा, आवश्यक सबै तयारी पूरा

 

पोखरा, भदौ ३० ।

अन्नपूर्ण मिडिया नेटवर्क प्रालि अन्तर्गतको एपीवान टेलिभिजनले सञ्चालन गरेको नेपाल आइडलको सिजन थ्रीको पोखरा अडिसनको तयारी पूरा भएको छ । भदौ ३१ गते मंगलबार पोखरा सिमलचौरको जनप्रिय माविमा अडिसन हुने भएको छ ।

एपीवान टेलिभिजनका तथा नेपाल आइडलका प्रोजेक्ट हेड तथा निदेशक सुरेश पौडेलले अडिसन बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुने जानकारी दिए । पोखरा अडिसन लागि आवश्यक सबै तयारी पुरा भएको एपिवान गण्डकी प्रदेश ब्युरोका प्रमुख सागर राज तिमिल्सिनाले जानकारी दिए । पोखरापछि असोज ३ गते बुटवल, असोज ६ गते नेपालगन्ज, असोज १० गते वीरगन्ज र असोज १४ गते बिर्तामोडमा अडिसन हुनेछ ।

प्रतियोगितामा भाग लिन चाहनेले फर्म भरेर ल्याउनुपर्ने छ वा त्यही पाइने फर्म भरेर बुझाउनु पर्नेछ । फर्म र प्रतियोगितमा भाग लिन कुनै शुल्क लाग्ने छैन । पोखरामा हुने अडिसनमा तनहुँ, स्याङ्जा, लमजुङ, गोरखा बागलुङ, म्याग्दी र पर्वतका विभिन्न ठाउँबाट समेत अडिसनमा भाग लिन आउने निर्देशक पौडेलले बताए ।

उनले अघिल्लो नेपाल आइडलमा भएका कमी कमजोरीलाई हटाएर अझ उत्कृष्ट कार्यक्रम बनाएको उल्लखे गरे । प्रतियोगिताको निर्णायकमा संगीतकार न्ह्यू बज्राचार्य, संगीतकार तथा गायक कालिप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशी छन् । अमेरिकन आइडलको फ्रेन्चाइज लिएर एपीवान टिभीले ३ वर्षदेखि नेपाल आइडल गायन प्रतियोगिता सुरु गरेको हो ।

नेपाली नागरिकता भएका १६ देखि ३० वर्षभित्रका नेपालीले प्रतियोगितामा भाग लिन पाउनेछन् । सांगीतिक एल्बमका लागि गीत रेकर्ड गरिसकेका व्यावसायिक गायक र गायिकाले समेत यसमा भाग लिन सक्छन् । पहिलो नेपाल आइडलका विजेता पोखराका बुद्ध लामा, दोस्रो नेपाल आइडल रवि ओड भएका थिए ।