नेपाल–अष्ट्रेलिया हवाइ सम्झौता : दैनिक एक उडान गर्ने सहमति

 

काठमाडौं, असोज १४ ।

नेपाल र अष्ट्रेलियाबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको छ ।

दुई देशका प्रतिनिधिमण्डलबीच क्यानडामा भएको वार्तापछि सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए ।

क्यानडाको मन्ट्रियलमा रहेको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्थाको प्रधान कार्यालयमा भएको वार्तापछि अक्टोबर १ मा समझदारीमा हस्ताक्षर भएको हो ।

दुई देशबीच भएको सैद्धान्तिक सम्झौताका आधारमा अनुमति प्राप्त एयरलाइन्सहरुले उडान गर्न सक्ने बताइएको छ ।

समझदारीअनुसार नेपालका एयरलाइन्सहरुले अष्ट्रेलियाको पर्थ, सिड्नी र ब्रिसबेनमा हप्ताको सात उडान गर्न पाउने छन् ।

अन्य विमानस्थलहरुमा भने असिमित उडान गर्नपाउने छन् । त्यस्तै अष्ट्रेलियाका एयरलाइन्सहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक एक उडान गर्न पाउने छन् ।

पोखरा, भैरहवा लगायतका अन्य विमानस्थलहरुमा भने हप्तामा २८ उडान गर्नसक्ने सम्झौता भएको बताइएको छ ।

समझदारीमा नेपालका तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य र अष्ट्रेलियाको तर्फबाट संघीय पूर्वाधार, यातायात,शहरी एंवम् क्षेत्रीय मन्त्रालयका कार्यकारी निर्देशक जोम वल्फले हस्ताक्षर गरेका हुन् ।
(ईमेजखबरबाट साभार)