नेपाली महिला फुटबल टोली रजतमै सीमित, हरिको राजीनामा, निरु र मनमायाको संन्यास

 

पोखरा, मंसिर २३ ।

१३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् महिला फुटबलमा नेपाल फेरि पनि रजतपदकमै सीमित भएको छ ।

सोमबार पोखरा रंगशालामा स्वर्णपदकका लागि भएको फाइनलमा चिरपरिचित प्रतिस्पर्धी भारतसित २–० ले पराजित हुँदै नेपाल लगातार तेस्रोपटक रजतमै सीमित भएको हो ।

भारतका लागि दुवै गोल बालादेवीले गरिन् । नेपालले खेलमा फर्कने प्रयास गरे पनि सफल भएन ।

नेपाल लगातार तेस्रोपटक फाइनलमा भारतसँगै पराजित भएको हो ।

प्रशिक्षक हरि खड्काले दिए राजीनामा

नेपाली टोली पराजित भएपछि प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन् ।

खड्काले हारको सम्पूर्ण जिम्मेवारी लिँदै राजीनामा दिएको बताएका हुन् । उनलाई गत वर्ष ‘एन्फा’ले महिला फुटबल टोली प्रशिक्षणको जिम्मेवारी सुम्पेको थियो ।

उनको कार्यकालमा नेपालले विभिन्न प्रतियोगितामा गरी चारपटक फाइनल खेले पनि उपविजेतामै सीमित हुनपुगेको छ ।

निरु र मनमायाले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

कप्तान एवं फरवार्ड खेलाडी निरु थापा र डिफेन्डर मनमाया लिम्बूले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् ।

सोमबार भारतसित पराजित भएसँगै निरु र मनमायाले संन्यासको घोषणा गरेका हुन् ।