नेपाली फुटबल टोली जोर्डनमा, विश्वकप छनोटको चौथो खेलमा नेपालले मंगलबार जोर्डनको सामना गर्ने

 

काठमाडौं, असोज २६ ।

विश्वकप छनोट अन्तर्गत समूह चरणको चौथो खेल खेल्न नेपालको राष्ट्रिय फुटबल टिम हिजो जोर्डन पुगेको छ । गत बिहीबार अष्ट्रेलियासँग पराजित भएको नेपाल हिजो साँझ जोर्डनको राजधानी अम्मान पुगेको हो ।

नेपालले विश्वकप छनौटको चौथो खेलमा यही मंगलबार जोर्डनको सामना गर्नेछ । नेपाली टिम अष्ट्रेलियाको क्यानबेराबाट सिधै जोर्डन गएको हो । विश्वकप छनौटका तीन खेलमा नेपालले एउटामात्रै जित हात पारेको छ । पहिलो खेलमा कुवेतसँग ७–० ले हारेको नेपालले दोस्रो खेलमा चाईनिज ताइपेइलाई २–० ले हराएको थिायो । तेस्रो खेलमा भने नेपाललाई अष्ट्रेलियाले ५–० ले पराजित गरेको थियो ।

समूह ‘बी’ को नेपालले ३ खेलमा ३ अंक जोडेको छ । नेपालले विश्वकप छनौटमा लगातार चारवटा ‘अवे’ खेल खेल्दैछ । काठमाडौंको दशरथ रंगशाला पुनर्निर्माणको क्रममा रहेकाले नेपालले लगातार चारवटा खेल विपक्षी टोलीको मैदानमा खेल्नुपरेको हो ।

आसन्न १३ औं सागका लागि दशरथ रंगशाला तयार भएपछि बाँकी खेलहरु होम ग्राउण्डमा खेल्ने नेपालको तयारी छ ।
(ईमेजखबरबाट साभार)