नेपाली कांग्रेस वडा ईकाई १७ को उपनिर्वाचन केन्द्रित छलफल, घरदैलोका आगामी कार्यक्रम समेत तय

पोखरा, कार्तिक २३ ।

नेपाली कांग्रेस वडा ईकाई १७ ले शनिबार उपनिर्वाचन केन्द्रित छलफल सम्पन्न गरेको छ । निर्वाचन सफल बनाउनका लागि नेपाली कांग्रेस कास्कीका सभापती कृष्ण के.सी. ले कमाण्ड समालेको वडा नं १७ र छिमेकी जिल्ला स्याङ्गजाका कांग्रेसजनहरुको उल्लेखनिय सहभागिता रहेको सो छलफल कार्यक्रमले घरदैलोका आगामी कार्यक्रमसमेत तय गरेको छ । सभापती देवराज आचार्यले निर्वाचन केन्द्रित रहेर वडा निकै चलायमान भएको बताउँदै अग्रज नेता खेमराज पौडेलको उम्मेदवारीले वडाका बासिन्दा मतदान गर्न उत्साहित भएको बताए ।

नेपाली कांग्रेसको तर्फबाट चुनावी मैदानमा रहेका खेमराज पौडेलले यो निर्वाचनमा वडा नं १७ भूमिका महत्वपूर्ण हुने भन्दै यस बर्ष नेपाली कांग्रेसलाई जिताउनका लागि वडाबासीलाई अनुरोध गरे । आफूलाई माक्सबादी भन्नेहरुले दर्शनको सामान्य ज्ञान पनि नराखी यूवाको परिभाषा दिएको प्रति आपत्ति रहेको भन्दै उनले भने, ‘यूवा भनेको चेतनाले हुने हो उमेरले होईन, म विचारको हिसाबले सबै भन्दा तन्नेरी उम्मेदवार हुँ, तसर्थ पनि यो जित सुनिश्चित रहेकोमा आफु ढुक्क छु ।’

नेपाली कांग्रेस कास्कीका सभापती कृष्ण केसीले उचित समयमा उचित उम्मेदवार मैदानमा भएका कारण क्षेत्र नं २ का बासिन्दा उत्साहित भएको बताउँदै निरन्तर राजनितीमा लाग्ने पुस्तालाई सकारात्मक सन्देश प्रवाह भएको बताए । निर्वाचन सम्म वडामै बसेर आफ्नो कार्य गर्ने तालिका रहेको जानकारी गराउँदै केसीले हौसला थपिदिन समेत सम्पूर्ण वडाबासीलाई आग्रह गरे ।

संविधानसभा सदस्य राजु थापाले यस क्षेत्रमा हुने निर्वाचनलाई स्याङ्गजा जिल्लाले आफ्नै जिल्लामा भएको निर्वाचन सरह हेरेको भन्दै वडा नं. १७ मा अधिकांश स्याङ्गजा जिल्लाबाट आएर बसोबास गर्नेको संख्या भएको कारणले निर्वाचन सफल बनाउन लागि पर्ने प्रतिवद्धता जाहेर गरे ।

स्याङ्गजाका सभापती तुलसी रेग्मीले यो निर्वाचनले वर्तमान सरकारलाई खबरदारीको काम गर्ने भएका कारण पनि नेपाली कांग्रेसले जित्न जरुरी रहेको भन्दै छिमेकी जिल्लाको पूर्ण सहयोग रहने कुरामा जोड दिए ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्य समीति सदस्य पुुण्डरी प्रसाद बराल, यूवक लामिछाने, नम्रता बराल, क्षेत्रीय सदस्य माधव बराल, ईकाई उपसभापति दिपेन्द्र बराल, नेपाली कांग्रेसकी नेतृ बिमला भण्डारीलगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन सचिव डिआर भट्टराईले गरेकी थिइन् ।